जनकपुरधाम। मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल मार्च लगातारको वर्षाका कारण प्रभावित भएको छ। आइतबार राति रौतहटको चपुरस्थित धर्मशालामा बास बसेको टोली सोमबार बिहानै यात्रा सुरु गर्ने तयारीमा थियो। तर रातिदेखिको मुसलधारे वर्षा र सहभागीका लागि पर्याप्त छाताको अभाव भएपछि मार्च केही समयका लागि स्थगित गरिएको छ।
मिटरब्याज पीडित संघर्ष समितिकी अभियन्ता लक्ष्मी घिमिरे का अनुसार करिब १०० देखि १५० वटा छाताको व्यवस्था हुन सके टोलीले तत्काल यात्रा पुनः सुरु गर्नेछ। अहिले समूहका केही व्यक्तिसँग मात्रै छाता भएकाले अधिकांश सहभागी वर्षामा हिँड्न नसक्ने अवस्थामा छन्।
उनले टोलीमा ठूलो संख्यामा ज्येष्ठ नागरिक सहभागी रहेकाले उनीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै वर्षा कम हुने प्रतीक्षा गरिएको बताइन्। “अघिल्ला दिनहरूमा घाम र वर्षा दुवै सहेर हिँड्नुपर्दा केही महिला बिरामी परिसकेका छन्। त्यसैले थप जोखिम नहोस् भनेर केहीबेर यात्रा रोकेका हौं,” उनले भनिन्।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित पैदल मार्च सुरु गरेका हुन्। उनीहरूले सरकारसँग भएका सम्झौता कार्यान्वयन, मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठनलगायत ६ बुँदे माग कार्यान्वयनको माग गर्दै सिंहदरबारसम्म पुग्ने घोषणा गरेका छन्।
यात्राका क्रममा निरन्तर पैदल हिँडाइ, चर्को घाम र वर्षाका कारण धेरै सहभागीको स्वास्थ्यमा असर परेको छ। कतिपयको खुट्टा सुन्निने, फोका उठ्ने र घाउ लाग्ने समस्या देखिए पनि आन्दोलनलाई निरन्तरता दिने अडानमा उनीहरू कायम छन्। अहिले वर्षा रोकिएसँगै आवश्यक सामग्रीको व्यवस्थापन गरी यात्रा पुनः अघि बढाउने तयारी भइरहेको संघर्ष समितिले जनाएको छ।




















