इटहरी । उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको ३४ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन्।

भण्डारीले ७५८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नवराज काफ्लेलाई १५ मतको झिनो अन्तरले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए।

उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्षसमेत रहेकी भण्डारी अध्यक्षमा निर्वाचित भएसँगै संघको इतिहासमै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन्। निर्वाचन अभियानका क्रममा उनले संघमा पारदर्शिता, सुशासन, महिला नेतृत्वको सशक्त सहभागिता तथा व्यवसायीमैत्री सुधारका एजेन्डा अघि सारेकी थिइन्।IMG-20260712-WA0010

वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने सर्वाधिक ९८९ मतसहित निर्वाचित भए। त्यसपछि सञ्जीव खड्का (९८४), बलराम बस्नेत (९६०), सिनेट रिजाल (९५९), सञ्जय शाह (९५७), बलबहादुर न्यौपाने (९४३), सन्नी चौधरी (९१५), दिनेशप्रसाद धमला (९०८) र महेश थापा (८८३) मत प्राप्त गर्दै विजयी बने।

वाणिज्य सदस्यका अन्य उम्मेदवारमध्ये दुर्गाप्रसाद थापाले ५५८, निर्मला श्रेष्ठले ५१३, उषा सेढाई (सत्याल)ले ४८४ तथा हर्कबहादुर विकले ४२३ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्।

महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भए। उनीहरूका प्रतिस्पर्धी पुनम थापा मगर र लीलाकुमारी राई पराजित भए।

उद्योग सदस्यतर्फ अभिषेक बस्नेत (१४४), शिवप्रसाद भट्टराई ‘भूपाल’ (१३४), हरिप्रसाद तिम्सिना (१२१) र किसनकुमार खेडिया (१०१) निर्वाचित भए। अर्का उम्मेदवार सुरज आङ्देम्बेले ८० मत प्राप्त गरे।

निर्वाचन समितिका अनुसार उद्योग वाणिज्य संघ इटहरीमा कुल २ हजार ३६९ मतदाता रहेकामा १ हजार ५४३ मत खसेको थियो। यस निर्वाचनसँगै उद्योग वाणिज्य संघ इटहरीले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ, जसलाई स्थानीय व्यवसायिक वृत्तमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।