झापा । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ७६.२७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। आर्थिक वर्षको अन्त्यमा सार्वजनिक वित्तीय विवरणअनुसार करिब ३३ करोड रुपैयाँ खर्च हुन नसकी फ्रिज भएर सरकारी कोषमा फिर्ता गएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड रुपैयाँ बजेट स्वीकृत गरेकोमा १ अर्ब ५ करोड रुपैयाँ विभिन्न कार्यक्रम तथा योजनामा खर्च भएको जनाएको छ।

वित्तीय विवरणअनुसार चालुतर्फको खर्च सन्तोषजनक देखिएको छ। चालु बजेटको ८५.१४ प्रतिशत खर्च भए पनि विकास निर्माण तथा पूर्वाधारसँग सम्बन्धित पुँजीगत बजेटको खर्च ६७।२७ प्रतिशतमा सीमित रह्यो।

नगरपालिकाका अनुसार सबैभन्दा बढी रकम बुट्टावारी–प्याकुरेल चोक सडक योजनाबाट बचत भएको हो। उक्त योजनाका लागि छुट्याइएको २ करोड ५४ लाख रुपैयाँ खर्च हुन सकेन। निर्माण कार्य सम्पन्न भएपछि अन्तिम मूल्याङ्कनमा लागत अनुमानभन्दा कम खर्च भएकाले रकम बचत भएको नगरपालिकाको स्पष्टिकरण छ।

अन्य केही विकास योजनामा पनि कार्यान्वयन अवधि छोटिनु, खरिद तथा भुक्तानी प्रक्रिया समयमै पूरा हुन नसक्नु र लागत अनुमानभन्दा कम खर्च हुनुजस्ता कारणले विनियोजित बजेट पूर्ण रूपमा उपयोग हुन सकेन।

स्थानीय तहमा विकास बजेटको प्रभावकारी कार्यान्वयनलाई सुशासनको महत्वपूर्ण सूचक मानिने भए पनि बिर्तामोडमा यस वर्ष पनि पुँजीगत खर्च अपेक्षाभन्दा कमजोर देखिएको छ। यद्यपि नगरपालिकाले सम्पन्न योजनाबाट भएको बचतलाई अनावश्यक खर्च रोकिएको र वित्तीय अनुशासनको सकारात्मक पक्षका रूपमा व्याख्या गरेको छ।