इटहरी । नेपाली चलचित्रका नायक पल शाह ले शनिबार सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टको रिबन काटेर औपचारिक उद्घाटन गरेका छन्।
उद्घाटनपछि बोल्दै नायक पल शाहले आधुनिक प्रविधिमा आधारित यस्तो मनोरञ्जन सेवा इटहरीमा सञ्चालनमा आउनु पूर्वी नेपालका लागि सकारात्मक उपलब्धि भएको बताए। उनले दर्शकलाई नयाँ र फरक किसिमको मनोरञ्जन अनुभव गराउने यस्तो प्रविधि इटहरीमा आउको हुदा परिवार, साथीभाइ र बालबालिकासँग एकपटक अवश्य अनुभव गर्न आग्रह गरे ।
आधुनिक १८डी प्रविधिमा आधारित यस मनोरञ्जन केन्द्रमा त्रिआयामिक (थ्री–डी) चलचित्रसँगै वास्तविकजस्तै कम्पन, हलचल, हावाको बहाव, पानीका छिटा, विशेष ध्वनि तथा अन्य विशेष प्रभावको अनुभव गर्न सकिन्छ। यसले दर्शकलाई चलचित्रभित्रै पुगेको अनुभूति गराउने कम्पनीले जनाएको छ।
केन्द्रमा समुद्री संसार, अन्तरिक्ष यात्रा, डायनासोरको संसार, रोलर कोस्टर, जङ्गल साहसिक यात्रा, काल्पनिक संसार, डर लाग्दा दृश्य, रोबोट संसार, माछाको संसारलगायत १७ भन्दा बढी फरक–फरक विषयवस्तुमा आधारित अनुभव उपलब्ध छन्। आगन्तुकले आफ्नो रुचिअनुसार कुनै पनि अनुभव छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।
मनोरञ्जन केन्द्र दैनिक बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। पाँच वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिका लागि प्रति व्यक्ति ३५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ। एक पटकको प्रदर्शनमा १० देखि १२ जना वयस्क तथा १४ देखि १५ जना बालबालिकाले एकैसाथ अनुभव लिन सक्ने क्षमता रहेको बताइएको छ।
१८डी पाथिभरा इन्टरटेनमेन्ट प्रालिका अनुसार सेवा परिवार, विद्यार्थी, साथीहरूको समूह, दम्पती, बालबालिका तथा आन्तरिक एवं बाह्य पर्यटकका लागि उपयुक्त हुनेछ। कम्पनीले निकट भविष्यमा झापाको बिर्तामोड र इलाममा पनि शाखा विस्तार गर्ने योजना बनाएको जनाएको छ।
इटहरीस्थित सेन्ट्रल प्लाजामा सञ्चालनमा आएको यस मनोरञ्जन केन्द्रले पूर्वी नेपालका दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित नयाँ मनोरञ्जन अनुभव प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।




















