इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन भोलि (असार २७ गते) हुने तयारी भइरहेका बेला अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले मारवाडी समाजका उद्योगी तथा व्यवसायीहरूसँग आत्मीय भेटघाट तथा सम्मानपूर्ण संवाद कार्यक्रम सम्पन्न गरेकी छन्।

कार्यक्रममा उद्योग, व्यापार, लगानी, स्थानीय आर्थिक विकास तथा व्यवसायीहरूले भोगिरहेका समसामयिक चुनौतीका विषयमा खुला छलफल भएको थियो। सहभागी व्यवसायीहरूले उद्योग वाणिज्य संघले आगामी दिनमा व्यवसायीको हकहितका लागि अझ प्रभावकारी भूमिका खेल्नुपर्ने, व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रका समस्यालाई सम्बन्धित निकायसम्म सशक्त रूपमा पुर्‍याउनुपर्ने सुझाव दिएका थिए।IMG-20260710-WA0010

भेटघाटका क्रममा अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारीले प्राप्त सुझावलाई आफ्नो नेतृत्वको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायी समुदायसँग निरन्तर संवाद र सहकार्यलाई अझ सुदृढ बनाइने बताइन्। उनले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्था बनाउँदै पारदर्शी, उत्तरदायी र समावेशी नेतृत्व प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरिन्।

कार्यक्रमपछि भण्डारीले मारवाडी समाजप्रति आभार व्यक्त गर्दै उद्योग, व्यापार र स्थानीय आर्थिक विकाससँग सम्बन्धित विषयमा भएको सार्थक छलफलले आफूलाई थप जिम्मेवार बनाएको बताइन्। “मारवाडी समाजबाट प्राप्त सुझाव, विश्वास र आत्मीय स्वागतले व्यवसायी समुदायसँग अझ नजिकबाट सहकार्य गर्ने प्रेरणा दिएको छ। सहकार्य, संवाद र पारस्परिक विश्वासमार्फत समृद्ध व्यवसायिक वातावरण निर्माणका लागि हामी निरन्तर प्रयासरत रहनेछौँ,” उनले भनिन्।IMG-20260710-WA0011

निर्वाचनको पूर्वसन्ध्यामा आयोजित उक्त भेटघाटलाई स्वतन्त्र समूहले व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा लिँदै व्यवसायीको विश्वास जित्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।