विराटनगर । नेपाली सेनाको वार कलेज, नगरकोटमा सञ्चालित ‘हायर कमाण्ड एन्ड म्यानेजमेन्ट’ तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन–अवलोकन भ्रमण गर्दै स्थानीय सरकारको कार्यप्रणाली, सेवा प्रवाह र सुरक्षा समन्वयका अभ्यासबारे प्रत्यक्ष जानकारी लिएको छ।

सहायक रथी कमल बानियाँको नेतृत्वमा आएको टोलीले महानगरले अवलम्बन गरेको डिजिटल सेवा प्रणाली, सुशासन, विपद् जोखिम न्यूनीकरण, राजस्व व्यवस्थापन तथा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनबारे महानगरका पदाधिकारीसँग अन्तरक्रिया गरेको थियो। छलफलमा संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय, भविष्यका सुरक्षा चुनौती तथा नागरिकमैत्री प्रशासनलाई थप प्रभावकारी बनाउने उपायबारे पनि विचार आदान–प्रदान गरिएको थियो।

अन्तरक्रियाका क्रममा सहायक रथी कमल बानियाँले स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिने राज्यको सबैभन्दा नजिकको संरचना भएकाले यसको प्रभावकारिता र विश्वसनीयता महत्वपूर्ण हुने बताए। उनले महानगरले छिटो, सहज र प्रभावकारी सेवा प्रवाहका लागि अपनाएका अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय हुन सक्ने धारणा राखे।

टोलीका अर्का सहायक रथी बालकृष्ण कार्कीले अध्ययन भ्रमणको मुख्य उद्देश्य स्थानीय तहका सफल अभ्यास र अन्तरसरकारी समन्वयका प्रभावकारी मोडललाई प्रत्यक्ष रूपमा बुझ्नु रहेको बताए। यस्ता भ्रमणले सुरक्षा निकाय र नागरिक प्रशासनबीचको सहकार्यलाई थप सुदृढ बनाउने उनको विश्वास थियो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले डिजिटल प्रविधिमा आधारित सेवा विस्तार, सुशासन, पूर्वाधार विकास, राजस्व परिचालन तथा विपद् तयारीलाई प्राथमिकतामा राखेर महानगर अघि बढिरहेको जानकारी दिए। उनले सहभागी अधिकारीहरूले उठाएका जिज्ञासाको समेत जवाफ दिएका थिए।

महानगर प्रहरी प्रमुख राजन पौडेलको सञ्चालनमा भएको कार्यक्रममा शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया र राजस्व महाशाखा प्रमुख सरोज गौतमले प्रशासनिक संरचना, शिक्षा, राजस्व व्यवस्थापन तथा स्थानीय विकासका विषयमा प्रस्तुति दिएका थिए।

अधिकृत प्रज्वल पोखरेलले विराटनगरको ऐतिहासिक, आर्थिक तथा औद्योगिक महत्वबारे जानकारी दिँदै पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा महानगरले खेलेको भूमिकामाथि प्रकाश पारे।

सहभागीहरूले अध्ययन–अवलोकन भ्रमणले स्थानीय सरकारको संस्थागत क्षमता, नागरिक सेवा प्रणाली तथा सुरक्षा निकायसँगको समन्वयका प्रभावकारी अभ्यासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको प्रतिक्रिया दिएका छन्। यसअघि उक्त टोलीले कोशी प्रदेश सरकार र प्रदेश प्रहरी कार्यालयको समेत अध्ययन–अवलोकन गरिसकेको थियो।