इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका हेल्लो मोबाइल सर्भिस, इटहरीका सञ्चालक बलराम बस्नेतको पक्षमा मोबाइल व्यवसायीहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन्।

इटहरीका विभिन्न स्थानमा व्यवसायीहरूसँग भेटघाट गर्दै मोबाइल व्यवसायीहरूले बस्नेतलाई सदस्य पदमा विजयी गराउन आग्रह गरेका छन्। उनीहरूले लामो समयदेखि मोबाइल व्यवसायमा सक्रिय रहँदै इमानदार सेवा र गुणस्तरीय उत्पादनमार्फत ग्राहकको विश्वास जितेका बस्नेत उद्योग वाणिज्य संघमा व्यवसायीको आवाज उठाउन सक्षम उम्मेदवार रहेको बताएका छन्।

बस्नेतले इटहरीमा हेल्लो मोबाइल सर्भिस सञ्चालन गर्दै विशेषगरी आईफोन बिक्री तथा बिक्रीपछिको सेवामार्फत व्यवसायिक पहिचान स्थापित गरेका छन्। ग्राहकप्रतिको विश्वास, पारदर्शी कारोबार र गुणस्तरीय सेवाका कारण उनी मोबाइल व्यवसायीमाझ परिचित नाम बनेका छन्।

उद्योग वाणिज्य संघको निर्वाचनमा उनी पहिलो पटक उम्मेदवार बनेका हुन्। संघमा निर्वाचित भए साना तथा मझौला व्यवसायीका समस्या समाधान, प्रविधिसँग सम्बन्धित व्यवसायको संरक्षण तथा व्यवसायीहरूको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन असार २७ गते हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट, छलफल तथा मत माग्ने अभियानलाई तीव्र बनाएका छन्।