इटहरी। इटहरीका रेडिमेड व्यवसायीहरूलाई एकै थलोमा भेला गराई व्यवसाय क्षेत्रमा देखिएका चुनौती, अवसर र समाधानका विषयमा छलफल गर्ने उद्देश्यले रेडिमेड व्यवसायी संघ इटहरीले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा रेडिमेड व्यवसायमा आबद्ध व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष दामोधर रिमालले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले पछिल्लो समय रेडिमेड व्यवसायले भोगिरहेका विभिन्न समस्याबारे खुलेर धारणा राखेका थिए। विशेषगरी बजारमा आएको व्यापारिक मन्दी, उपभोक्ताको क्रयशक्तिमा आएको कमी, बढ्दो सञ्चालन खर्च, अनलाइन व्यापारसँग बढ्दो प्रतिस्पर्धा, अव्यवस्थित बजार व्यवस्थापन, पार्किङको अभाव, बैंक तथा वित्तीय संस्थाको ऋण र ब्याजको भार, घरबहाल, कर प्रणाली तथा व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका व्यावहारिक कठिनाइका विषयमा व्यवसायीहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए।
सहभागीहरूले उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा संस्था भएकाले व्यवसायीका वास्तविक समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने, नीतिगत सुधारका लागि पहल गर्ने र व्यवसायमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूले साना, मझौला र ठूला सबै व्यवसायीलाई समान व्यवहार गर्दै व्यवसायीको हकहित संरक्षण गर्ने नेतृत्वको आवश्यकता रहेको धारणा पनि व्यक्त गरेका थिए।
प्रमुख अतिथि गायत्री कटुवाल भण्डारीले व्यवसायीहरूले उठाएका हरेक गुनासा र सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उद्योग वाणिज्य संघलाई व्यवसायीमैत्री, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले संघको नेतृत्व व्यवसायीको सेवाका लागि हुने भएकाले कुनै पनि व्यवसायीको समस्या बेवास्ता हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भण्डारीले इटहरीको व्यापारलाई पुनः चलायमान बनाउन निजी क्षेत्र, स्थानीय सरकार र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउँदै बजार प्रवर्द्धन, व्यवसायीको क्षमता अभिवृद्धि, लगानीमैत्री वातावरण, डिजिटल प्रविधिको प्रयोग तथा नयाँ पुस्तालाई व्यवसायतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उद्योग वाणिज्य संघले व्यवसायीका हरेक वर्गसँग नियमित संवाद कायम राख्दै समस्या समाधानका लागि निरन्तर पहल गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष दामोधर रिमालले रेडिमेड व्यवसाय इटहरीको व्यापारिक पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा बदलिएको बजार अवस्था, उपभोक्ताको खरिद गर्ने शैली र आर्थिक गतिविधिमा आएको सुस्तताले व्यवसायीहरू प्रभावित भएको बताउनुभयो। यस्ता चुनौती समाधानका लागि व्यवसायीहरूबीच एकता, सहकार्य र नियमित संवाद अपरिहार्य रहेको उहाँको भनाइ थियो।
उहाँले रेडिमेड व्यवसायी संघले व्यवसायीका साझा मुद्दा उठाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै आएको र आगामी दिनमा पनि व्यवसायीको हितका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, व्यवसायीहरूलाई समयअनुकूल व्यापार व्यवस्थापन, ग्राहकमैत्री सेवा र व्यवसायिक अनुशासनलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
कार्यक्रममा उपस्थित व्यवसायीहरूले उद्योग वाणिज्य संघको आगामी नेतृत्वले चुनावी प्रतिबद्धतामात्र नभई व्यवहारमा पनि व्यवसायीको पक्षमा काम गर्नुपर्ने धारणा राख्दै संघलाई सबै व्यवसायीको साझा घरका रूपमा स्थापित गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले नियमित अन्तरक्रिया, व्यवसायीको समस्या अभिलेखीकरण, सम्बन्धित सरकारी निकायसँग समन्वय तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
छलफलका क्रममा व्यवसायीहरूले बजारमा ग्राहकको संख्या घट्दै जानु, चाडपर्वबाहेक व्यापार सुस्त हुनु, अनियन्त्रित अनलाइन व्यापार, बढ्दो सञ्चालन खर्च तथा बदलिँदो व्यापारिक परिवेशसँग जुध्न व्यवसायीलाई आवश्यक तालिम, प्रविधि र सहजीकरण उपलब्ध गराउनुपर्ने विषयमा समेत जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजकले सहभागी सम्पूर्ण व्यवसायी तथा अतिथिहरूप्रति आभार व्यक्त गर्दै यस्ता भेटघाट र अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ। व्यवसायीहरूबीच आपसी सहकार्यलाई सुदृढ बनाउँदै व्यवसायिक हितका साझा एजेन्डामा एकताबद्ध भएर अघि बढ्नुपर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।




















