इटहरी । स्काउट विद्यार्थीहरूको शारीरिक, बौद्धिक, नेतृत्व तथा व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इटहरी युथ ओपन क्र्यु र विश्व आदर्श स्काउट ट्रुपको संयुक्त आयोजनामा ‘ट्रेसल रेस’ प्रतियोगिता सम्पन्न भएको छ। विश्व आदर्श विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका स्काउट ट्रुपहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विश्व आदर्श विद्यालयका सहायक प्रिन्सिपल मोहनप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य सुदर्शन भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस्तै, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक प्रदीपकुमार विश्वास, दिवस राजवंशी तथा बराहक्षेत्र स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको संयोजन स्काउटर प्रबिन बिष्टले गरेका थिए।
प्रतियोगितामा सहभागी टोलीहरूले स्काउटिङका विभिन्न सीप, टोलीगत समन्वय, नेतृत्व क्षमता, सिर्जनात्मक सोच तथा समय व्यवस्थापनको उत्कृष्ट प्रदर्शन गरेका थिए। वरिष्ठ स्काउटर हेमन्त भट्टराई र स्काउटर सुमन बराल सम्मिलित निर्णायक मण्डलले प्रदर्शनका आधारमा नतिजा सार्वजनिक गरेको थियो।
प्रतियोगितामा श्री ज.डे. ज. स्काउट ट्रुप, बराहक्षेत्र प्रथम, श्री सरस्वती स्काउट ट्रुप, इटहरी द्वितीय, श्री राष्ट्रिय स्काउट ट्रुप, इटहरी र होराइजन स्काउट ट्रुप, इटहरी संयुक्त रूपमा तृतीय भएका छन्। त्यस्तै, श्री जनसहयोग स्काउट ट्रुपले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा रोभर लिडर डिल्लीकुमार शर्माले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन फणीन्द्रप्रसाद दाहालले गरेका थिए। स्काउटर पूर्णिमा सङ्ग्रौला, रोभर–रेन्जर, विभिन्न विद्यालयका स्काउट शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
आयोजकले प्रतियोगिता सफल बनाउन स्थान, आवश्यक पूर्वाधार तथा पुरस्कार व्यवस्थापन गरी सहयोग गरेकोमा विश्व आदर्श एकेडेमी परिवारप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ। यस्ता गतिविधिले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व विकास र व्यवहारिक सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास रहेकाे छ ।



















