झापा । जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट सुरक्षा निकायका हतियार लुटिएको घटनापछि पूर्वी पहाडी क्षेत्रमा सुरक्षा सतर्कता थप कडा बनाइएका बेला पाँचथरबाट तीन थान बेवारिसे भरुवा बन्दुक बरामद भएका छन्। यस घटनाले पूर्वी पहाडी क्षेत्रमा अवैध हतियारको सम्भावित सञ्चिति तथा आवतजावतबारे सुरक्षा निकायको चासो अझ बढाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सोमबार साँझ मिक्लाजुङ गाउँपालिका–२ स्थित एक खोल्सीबाट काठका तीन थान एकनाले भरुवा बन्दुक फेला परेका हुन्। इलाका प्रहरी कार्यालय रवीबाट प्रहरी निरीक्षक दुर्गा राईको नेतृत्वमा खटिएको आठ सदस्यीय स्विप अपरेसन टोलीले स्थानीय हस्त आङदेम्बे र पूर्ण आङ्देम्बेको जग्गाको सिमानामा रहेको खोल्सीमा खोजतलास गर्ने क्रममा ती बन्दुक बरामद गरेको हो।

बरामद गरिएका बन्दुकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय रवीमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। घटनाको स्रोत, प्रयोग तथा कसले त्यहाँ लुकाएको हुनसक्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

दमकमा भएको हतियार लुटपाटको घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने पहाडी मार्ग तथा वन क्षेत्रलाई उच्च निगरानीमा राख्दै संयुक्त रूपमा स्विप अपरेसन, खोजतलास र गस्तीलाई तीव्र बनाएका छन्।

यद्यपि, पाँचथरमा फेला परेका भरुवा बन्दुक र दमकबाट लुटिएका सरकारी हतियारबीच कुनै सम्बन्ध रहेको पुष्टि भइसकेको छैन। सुरक्षा अधिकारीहरूका अनुसार अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले प्रमाणबिना कुनै निष्कर्ष निकाल्न नमिल्ने अवस्था छ।

सुरक्षा विश्लेषकहरूले भने यस्ता बेवारिसे वा अवैध हतियार फेला पर्ने घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनीहरूका अनुसार यस्ता घटनाले दुर्गम तथा सीमावर्ती क्षेत्रमा अवैध हतियारको सञ्चिति, ओसारपसार वा लुकाइछिपाइका गतिविधिबारे गहिरो अनुसन्धान आवश्यक रहेको संकेत गर्छ।

प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद वस्तु, हतियार वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। अनुसन्धानबाट प्राप्त हुने तथ्य र प्रमाणका आधारमा मात्रै घटनाको वास्तविक पृष्ठभूमि खुल्ने सुरक्षा अधिकारीहरूको भनाइ छ।