भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ। ममताले नागरिकता लिन आवश्यक सनाखत प्रक्रिया पूरा गर्नुपर्ने भए पनि उनका कानुनी संरक्षक शारीरिक रूपमा अशक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सम्भव भएको थिएन। यही अवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी राजन पौडेल नेतृत्वको टोली आवश्यक कागजातसहित ममताको घरमै पुगेको हो।

पारिवारिक विवरणअनुसार ममताका बुबा लामो समयदेखि बेपत्ता छन् भने जन्मदर्तापछि उनकी आमा पनि सम्पर्कविहीन भएकी छन्। त्यसपछि अदालतले हजुरआमा रत्नकुमारी राईलाई कानुनी संरक्षक तोकेको थियो। तर रत्नकुमारी स्वयं हिँडडुल गर्न र स्पष्ट रूपमा बोल्नसमेत नसक्ने अवस्थाका कारण प्रशासन कार्यालयमा उपस्थित हुन असमर्थ थिइन्।

यसपछि प्रशासनको टोलीले घरमै पुगेर आवश्यक कागजात संकलन, सनाखत तथा कानुनी प्रक्रिया पूरा गरी ममतालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

भोजपुर नगरपालिका–१ का वडाध्यक्ष जिरामणि राईले नागरिकको समस्यालाई बुझेर प्रशासनले घरदैलोमै सेवा पुर्‍याएको कार्यलाई मानवीय, संवेदनशील र उदाहरणीय पहल भएको बताएका छन्। उनले यस्ता सेवामूलक अभ्यासले दुर्गम तथा असहाय नागरिकलाई राज्यको सेवामा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरे।