झापा । बिर्तामोड नगरपालिकाले बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विद्यालय केन्द्रित जनचेतना अभियानलाई तीव्र बनाएको छ। त्यसअन्तर्गत बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा विद्यार्थी लक्षित जनचेतनामूलक नाटक प्रदर्शन गरी लागुऔषधको दुष्परिणामबारे सचेतना फैलाइएको हो।

बिर्तामोड नगरपालिकाको आयोजनामा तथा गैरसरकारी संस्था महासंघ झापाको सहयोगमा सम्पन्न कार्यक्रममा अभियान नाट्य समूहका कलाकारहरूले लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।

नाटकमार्फत विद्यार्थीलाई लागुऔषधको कुलतबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन तथा सकारात्मक र सिर्जनात्मक गतिविधिमा सक्रिय हुन प्रेरित गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि नाटकले लागुऔषधको जोखिमबारे स्पष्ट सन्देश दिएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले लागुऔषध दुर्व्यसन युवापुस्ताका लागि गम्भीर सामाजिक चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि विद्यालय, अभिभावक, स्थानीय समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई अनुशासित, सचेत र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न आग्रह गरे।

नगरपालिकाका अनुसार पछिल्लो समय बिर्तामोड क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दो देखिएकाले विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको हो। यसअघि पनि नगरपालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषधविरुद्ध झापा अभियान’ सञ्चालन गरेको थियो।

नगरपालिकाले आगामी दिनमा पनि विद्यालय तथा समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि बहुपक्षीय अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।