काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपीग्यासको मूल्यमा उल्लेख्य कटौती गरेको छ। नयाँ मूल्य बुधबार राति १२ः०१ बजेदेखि लागू भएको निगमले जनाएको छ।
निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।
नेपाल आयल निगमका अनुसार भारतीय आपूर्तिकर्ता Indian Oil Corporation (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, आन्तरिक हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्यसमेत घटेर आएपछि स्वचालित मूल्य समायोजन गरिएको हो।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य र आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा नियमित रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको जनाएको छ। पछिल्लो निर्णयसँगै सर्वसाधारण, यातायात व्यवसायी तथा उद्योग–व्यवसायको इन्धन खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।





















