मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ सम्ममा १०.५१ किलोमिटर सडक कालोपत्र गरिएको छ।
यस अवधिमा २६९.७० किलोमिटर सडक ढलान, २२.६८ किलोमिटर ग्राभेल सडक तथा ३३ वटा साना–ठूला कल्भर्ट निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ। साथै ४८ वटा खानेपानी आयोजना, ५७ पर्यटन पूर्वाधार, १०७ खेलकुद पूर्वाधार, ६३ सामुदायिक भवन, ४५ ढल तथा नाला, ६१ तटबन्ध, ३२ साना सिँचाइ आयोजना, ३० स्वास्थ्य पूर्वाधार, ४९ सार्वजनिक शौचालय, १२ पार्क, २५३ मन्दिर तथा ७९ गुम्बा निर्माण सम्पन्न भएका छन्।
आवास कार्यक्रमअन्तर्गत लुमन्तीसँगको सहकार्यमा १०० घर निर्माणको काम अघि बढाइएको छ। सेवा प्रवाह सुधारका लागि १७ वटा वडा कार्यालय भवन निर्माण तथा मर्मत गरिएको छ भने हेटौंडा–१६ को वडा कार्यालय आगामी वर्ष सञ्चालनमा ल्याइनेछ। हेटौंडा–२ मा नयाँ वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढाइएको छ।
आर्थिक सशक्तीकरणतर्फ १४ साना उद्योग सञ्चालनमा सहयोग गर्दै ४५० जनालाई प्रत्यक्ष र ७०० जनालाई अप्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ। गुन्द्रुक उत्पादन, ढाका प्रवर्द्धन र स्वरोजगार तालिमबाट ८०० भन्दा बढी नागरिक लाभान्वित भएका छन्। साथै मेवा र ड्रागन फ्रुटको व्यावसायिक खेतीमार्फत हेटौंडा–१२, १३, १४, १७ र १८ मा २०० भन्दा बढी नागरिकले रोजगारी पाएका छन्।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, शिक्षक बैंक, स्थानीय पाठ्यक्रम निर्माणलगायत १४७ आयोजना सम्पन्न भएका छन्। स्वास्थ्यतर्फ पदमपोखरी र हटियामा पाँच–पाँच शय्याका नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइनुका साथै २२ आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रमा युवा लक्षित कार्यक्रमबाट ५५ संस्था र १५२ जना लाभान्वित भएका छन् भने बागमती प्रदेश सरकारको अनुदानमा १ करोड ९२ लाख लिटर दूध उत्पादनमा प्रोत्साहन अनुदान वितरण गरिएको छ।
उपमहानगरपालिकाले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन, खुला जिम निर्माण तथा प्लास्टिक झोला प्रयोग न्यूनीकरण अभियानलाई पनि निरन्तरता दिएको जनाएको छ। जोखिमपूर्ण कार्यमा संलग्न जनशक्तिलाई तीन वर्षदेखि स्वास्थ्य बिमामा आबद्ध गरिएको छ भने निःशुल्क शववाहन सेवामार्फत ४८० शव व्यवस्थापन गरिएको छ।
सामाजिक समावेशीकरणतर्फ हिंसापीडित महिला तथा बालबालिकाका लागि अल्पकालीन आश्रयस्थल सञ्चालन, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना, बहिरा नागरिकका लागि विभिन्न वडामा दोभाषे सेवा तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र यौनिक अल्पसंख्यक लक्षित क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको छ।
त्यसैगरी, ‘सडक मानवमुक्त सहर’ अभियानअन्तर्गत सहयोगापेक्षी सडक मानवको उद्धार, उपचार, शिक्षा र पुनर्स्थापनाको काम भइरहेको छ। एचआईभी संक्रमित तथा प्रभावित २७ जना बालबालिकालाई विगत चार वर्षदेखि मासिक दुई हजार रुपैयाँका दरले शैक्षिक तथा पोषण सहयोग उपलब्ध गराइँदै आएको उपमहानगरपालिकाले जनाएको छ।




















