झापा । झापामा सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष ट्राफिक जाँच अभियानमा मदिरा तथा लागूऔषध सेवन गरेर सवारी चलाउने सात जना चालक कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका–३ स्थित कालीखोला क्षेत्रमा मेची राजमार्ग केन्द्रित विशेष जाँच अभियान सञ्चालन गरेको हो। अभियानमा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी चौकी बुधबारे तथा महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारेको समेत सहकार्य रहेको थियो।

अभियानका क्रममा मोटरसाइकल, चारपाङ्ग्रे सवारी तथा ट्र्याक्टरसहित २०० वटा सवारीसाधन जाँच गरिएको थियो। स्वास्थ्य परीक्षणसँगै चालकहरूको मदिरा सेवन र लागूऔषध सेवन परीक्षण पनि गरिएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा पाँच जना चालकले मदिरा सेवन गरी सवारी चलाएको पुष्टि भएको छ भने शंकास्पद २९ जनामध्ये दुई जनामा लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।

लागूऔषध सेवन गरेको पुष्टि भएका चालकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको छ। मदिरा सेवन गरी सवारी चलाउने चालकविरुद्ध पनि प्रचलित ट्राफिक ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता विशेष ट्राफिक जाँच अभियानलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।