उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा गएराति जङ्गली हात्ती प्रवेश गर्दा स्थानीयवासी त्रसित बनेका छन्। हात्तीले बस्तीमा पसेर कम्तीमा ६ वटा घरमा क्षति पुर्याएको छ भने घरभित्र रहेको अन्नपातसमेत नष्ट गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गणेश बमका अनुसार जङ्गली हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका कर्कटपाताले छाएका काठका घर भत्काएको हो। घर भत्किँदा अन्नपात र अन्य घरायसी सामग्रीमा समेत क्षति पुगेको बताइएको छ।
स्थानीय पुष्प राईका अनुसार मध्यराति हात्ती गाउँमा प्रवेश गरेपछि गाउँलेहरू घर छाडेर भाग्दै सुरक्षित स्थानमा पुगेका थिए। समयमै बाहिर निस्किएकाले मानवीय क्षति भने हुन पाएन।
हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई चौदण्डीगढी नगरपालिकाले अस्थायी रूपमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको छ। क्षतिको विवरण सङ्कलन गर्ने तथा आवश्यक राहत उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार कोशीटप्पु क्षेत्रबाट आएको हात्तीको समूह हाल लामाचौर र ४५ चोक आसपासको जङ्गल क्षेत्रमा रहेको अनुमान गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ भने स्थानीयलाई सतर्क रहन र रातिको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ।
पछिल्ला वर्षहरूमा कोशीटप्पु आसपासका जिल्लामा जङ्गली हात्ती बस्तीमा प्रवेश गर्ने घटना बढ्दै गएका छन्। यसले मानव–वन्यजन्तु द्वन्द्व थप चुनौतीपूर्ण बन्दै गएको भन्दै स्थानीयले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।




















