काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर धान रोपाइँ, असारे भाका र दही–चिउरा खाएर उल्लासका साथ मनाइँदै छ। कृषिप्रधान देश नेपालमा धान रोपाइँलाई कृषि उत्पादनसँगै सांस्कृतिक पर्वका रूपमा समेत मनाइने गरिन्छ। यस दिन खेतमा किसानहरू हिलोमा धान रोप्न व्यस्त हुन्छन् भने अन्य पेसा तथा व्यवसायमा संलग्न नेपालीले पनि दही–चिउरा खाएर पर्व मनाउने परम्परा निर्वाह गर्छन्।

असार १५ लाई नेपाली समाजमा ‘दही–चिउरा खाने दिन’का रूपमा पनि विशेष महत्त्वका साथ लिने गरिन्छ। खेतमा दिनभर मेहनत गर्ने किसानले शरीरमा ऊर्जा कायम राख्न र शीतलता प्राप्त गर्न दही–चिउरा खाने परम्परा रहिआएको छ। यही कारण यो परम्परा कृषिसँग मात्र सीमित नभई नेपाली संस्कृति र जीवनशैलीको अभिन्न अंग बनेको छ।

नेपाली संस्कृतिमा दहीलाई शुभकार्यको प्रतीकका रूपमा लिने गरिन्छ। घरबाट यात्रा सुरु गर्दा, नयाँ कामको थालनी गर्दा, विदेश प्रस्थान गर्दा वा अन्य विशेष अवसरमा दही र अक्षता लगाएर सगुन गर्ने चलन आज पनि प्रचलित छ। दही खाएर यात्रा सुरु गर्दा शुभ हुने जनविश्वास रहिआएको छ।

वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ। दहीमा पाइने उपयोगी जीवाणुले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ। आयुर्वेदमा भोजनपछि दही मथेर बनाइएको मोही पिउनुलाई स्वास्थ्यका लागि उपयोगी मानिएको छ। ‘भोजनान्ते पिबेत् तक्रं, वैद्यस्य किं प्रयोजनम्’ भन्ने आयुर्वेदीय उक्ति पनि यसैसँग सम्बन्धित छ। पखाला लागेका बेला दही–चिउरा सेवन गर्दा लाभ पुग्ने जनविश्वास समेत रहिआएको छ।

राष्ट्रिय धान दिवस मनाउने निर्णय नेपाल सरकारले विसं २०६१ मङ्सिर २९ गते गरेको थियो भने विसं २०६२ असार १५ गतेदेखि औपचारिक रूपमा दिवस मनाउन थालिएको हो। कृषिप्रधान मुलुक नेपालमा धान मुख्य खाद्यान्न बाली भएकाले यसको उत्पादन बढाउन, किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको छ।

असार महिना धान रोपाइँको मुख्य समय भएकाले किसानहरू खेतमा व्यस्त रहने गर्छन्। हिलोमा धान रोप्दै असारे गीत गाउने, एकअर्कालाई हिलो छ्यापाछ्याप गर्ने तथा सामूहिक रूपमा रोपाइँ गरेर रमाइलो गर्ने परम्पराले यो पर्वलाई अझ जीवन्त बनाएको छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता असारे भाकाले गाउँघर यतिबेला गुञ्जिरहेका छन्।

तर यस वर्ष असारको मध्यसम्म पनि देशका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नभएकाले अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। पानीको अभावका कारण धेरै किसान रोपाइँ गर्न पर्खाइमा छन् भने कतिपय स्थानमा रासायनिक मलको अभाव रहेको गुनासो पनि सुनिएको छ। यद्यपि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक रासायनिक मल पर्याप्त मौज्दातमा रहेको र किसानलाई समयमै उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ।

धान दिवसले कृषि उत्पादनको महत्त्व, किसानको श्रमप्रतिको सम्मान तथा नेपाली मौलिक संस्कृति संरक्षणको सन्देश दिने भएकाले यसको सामाजिक, सांस्कृतिक र आर्थिक महत्त्व अझ बढ्दै गएको छ। कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता र किसानको मनोबल उच्च राख्न राष्ट्रिय धान दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।