इटहरी । कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यको अनुभव र पर्यटन विकासका सम्भावनालाई समेटिएको ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले कोशी प्रदेश पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको धारणा व्यक्त गरे।
पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित उक्त पुस्तकमाथि उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले समीक्षात्मक टिप्पणी गरेका थिए।
उप्रेतीले पुस्तकले कोशी प्रदेशका पर्यटकीय गन्तव्यलाई इतिहास, संस्कृति, भूगोल, स्थानीय जनजीवन र पर्यटन विकासका सम्भावनासहित समेटेर पाठकमाझ प्रस्तुत गरेको बताए। पर्यटन क्षेत्रको दिगो विकासका लागि पूर्वाधारसँगै अनुसन्धानमा आधारित लेखन र पर्यटकीय सम्पदाको अभिलेखीकरण आवश्यक रहेको उनको भनाइ थियो। लेखक बरालले अधिकांश गन्तव्यमा स्वयं पुगेर त्यहाँको संस्कृति, रहनसहन र विशेषतालाई पुस्तकमा समेटेको उनले उल्लेख गरे।
पत्रकार विराट अनुपमले पुस्तकले पर्यटनलाई केवल व्यवसायसँग मात्र नभई स्थानीय समाज, संस्कृति र पहिचानसँग जोडेर प्रस्तुत गरेको बताए। यस्ता कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका हिसाबले कोशी प्रदेश देशकै सम्भावनायुक्त प्रदेश भए पनि अपेक्षाअनुसार पर्यटन क्षेत्रको विकास हुन नसकेको बताए।
लेखक तथा पर्यटन व्यवसायी बासुदेव बरालले पुस्तक लेख्नुको उद्देश्य कोशी प्रदेशका पर्यटकीय सम्पदालाई दस्तावेजीकरण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारी गराउनु रहेको बताए।
कार्यक्रमका अध्यक्ष तथा संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीले पर्यटन प्रवर्द्धनमा सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै साहित्य, सञ्चारमाध्यम र नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताए। यस्ता पुस्तक र परिचर्चा कार्यक्रमले पर्यटनप्रति नागरिकको चासो बढाउने र प्रदेशको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।




















