इटहरी । सामाजिक रूपान्तरण र युवाको सक्रिय सहभागितामार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पहिलो पाइला नेपाल को प्रस्तावित इटहरी शाखा गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमबाट सुदीप खतिवडा को संयोजकत्वमा २३ सदस्यीय प्रस्तावित इटहरी शाखा समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा सुसान्त भट्टराई चयन भएका छन् भने अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समाज रूपान्तरणमा युवाको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले युवाको एकता, सहकार्य र सक्रियतामार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका थिए।
सुन्दरहरैंचा शाखाका अध्यक्ष केबल लुइँटेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै, नवगठित समितिले इटहरी क्षेत्रमा सामाजिक सेवा, युवा सशक्तीकरण र समाज रूपान्तरणका विभिन्न अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।




















