काठमाडौं । नेपालमा बर्डफ्लु अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौतीका रूपमा देखिन थालेको छ। २०६५ सालयता पछिल्ला तीन वर्षबाहेक लगभग निरन्तर देखिएको संक्रमणले १८ वर्षमा ३४ लाखभन्दा बढी पन्छी र ५५ लाखभन्दा बढी अण्डा नष्ट हुँदा किसानले ठूलो आर्थिक क्षति बेहोरेका छन्।
२०८२ चैतदेखि सुरु भएको पछिल्लो प्रकोपले हालसम्म ११ जिल्लामा असर पुर्याइसकेको छ। पशु सेवा विभागका अनुसार यस अवधिमा करिब ६ लाख कुखुरा, १० लाख अण्डा र २ लाख किलो दाना नष्ट गरिएको छ।
यसपटकको संक्रमण पहिलो पटक ललितपुरस्थित सदर चिडियाखानासम्म पुगेपछि अवस्था थप संवेदनशील बनेको छ। संक्रमण पुष्टि भएपछि केही पन्छी तथा वन्यजन्तुको मृत्यु भएको छ भने आगन्तुकका लागि चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ। समयमै जानकारी नदिएको भन्दै चिडियाखानाको नेतृत्वसमेत परिवर्तन गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार संक्रमणबाट लाटोकोसेरो, गिद्ध, सावरीलगायतका पन्छीसँगै जंगली बिरालो र लेपर्ड क्याटसमेत मरेका छन्। हाल पशु चिकित्सक तथा प्राविधिकहरूको टोलीले चौबीसै घण्टा निगरानी गरिरहेको जनाएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार बर्डफ्लु रोग नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमित तथा जोखिममा रहेका सबै पन्छी, अण्डा, दाना, सोत्तर र सम्बन्धित सामग्री नष्ट गरी प्रभावित क्षेत्र पूर्ण रूपमा निसंक्रमण गर्ने अभियान सञ्चालन भइरहेको छ। साथै प्रभावित क्षेत्रबाट पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसारमा रोक लगाइएको छ।
लेयर्स किसान सबैभन्दा बढी प्रभावित
बर्डफ्लुको सबैभन्दा ठूलो असर लेयर्स कुखुरापालक किसानमा परेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभर रहेका करिब ५० लाख लेयर्स कुखुरामध्ये पछिल्लो संक्रमणका कारण ७ लाख कुखुरा मरेका छन्। कम घातक मानिने एच–९ भाइरसविरुद्धको खोप समयमै नलगाउँदा क्षति झन् बढेको उनले बताए।
यसका कारण दैनिक करिब ६ लाख अण्डा उत्पादन घटेको छ। प्रत्यक्ष रूपमा करिब एक अर्ब रुपैयाँ र अप्रत्यक्ष रूपमा तीन अर्ब रुपैयाँभन्दा बढी क्षति भएको दाबी गर्दै उनले किसानलाई क्षतिपूर्ति र बिमा रकम छिटो उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
काठमाडौं उपत्यका संक्रमणको केन्द्र
एक दशकपछि काठमाडौं उपत्यका पुनः बर्डफ्लुको मुख्य केन्द्र बनेको छ। मोरङबाट सुरु भएको संक्रमण अहिले काठमाडौं, ललितपुर, भक्तपुरसहित ११ जिल्लामा फैलिएको छ। काभ्रेपलाञ्चोकमा समेत पछिल्लो एक सातामै तीन वटा फार्ममा संक्रमण पुष्टि भएको छ।
मासु र अण्डा खान सुरक्षित
विशेषज्ञहरूले राम्रोसँग पकाएर वा उमालेर तयार गरिएको कुखुराको मासु र अण्डा खान सुरक्षित रहेको बताएका छन्। लेयर्स कुखुरा उत्पादक संघका अध्यक्ष विनोद पोखरेल तथा खाद्य तथा कृषि संगठन (एफएओ) का पशु स्वास्थ्यविज्ञ डा. सुरेन्द्र कार्कीका अनुसार उच्च तापक्रममा पकाउँदा बर्डफ्लुको भाइरस नष्ट हुने भएकाले उपभोक्ताले अनावश्यक त्रास मान्नुपर्ने अवस्था छैन।
यद्यपि, रोगबारेका अफवाहका कारण बजारमा माग घट्ने र किसानले उत्पादन बिक्री गर्न समस्या भोग्नुपर्ने अवस्था देखिएको उनीहरूको भनाइ छ।




















