इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखा र इटहरीस्थित QFX Cinemas बीच चलचित्र पत्रकारिता र नेपाली चलचित्रको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहकार्य गर्ने सहमति भएको छ।
चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले QFX Cinemas लाई पठाएको सहकार्य सम्बन्धी पत्रमा नेपाली चलचित्र उद्योगको प्रवर्द्धन, चलचित्र पत्रकारिताको सशक्तीकरण तथा गुणस्तरीय सूचना सम्प्रेषणका लागि दुवै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
सहमतिअनुसार चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाका आधिकारिक परिचयपत्र (आईडी कार्ड) प्राप्त पत्रकारलाई QFX मा चलचित्र हेर्न विशेष सहुलियत उपलब्ध गराइनेछ। पत्रकारहरूले चलचित्रसम्बन्धी समाचार, समीक्षा तथा विश्लेषणलाई व्यावसायिक र निष्पक्ष रूपमा प्रकाशन तथा प्रसारण गर्ने प्रतिबद्धता रहेको इटहरी ब्रबान्च म्यानेजर अस्मिता गुराँगाईले जानकारी दिनुभयो ।
यस्तै, QFX ले आयोजना गर्ने विशेष कार्यक्रम, चलचित्र प्रिमियर, कलाकारसँगको अन्तरक्रिया तथा अन्य प्रवर्द्धनात्मक गतिविधिमा चलचित्र पत्रकार संघलाई प्राथमिकताका साथ सहभागी गराइने सहमति भएको छ। चलचित्रको प्रचार–प्रसार, पोस्टर, ट्रेलर तथा अन्य प्रचार सामग्रीलाई पत्रकारहरूले आफ्ना सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ प्रसारण गर्ने व्यवस्था पनि मिलाइनेछ ।
दुवै पक्षबीच भएको यो सहकार्यले नेपाली चलचित्रको प्रवर्द्धन, दर्शक आकर्षण तथा चलचित्र पत्रकारिता र चलचित्र उद्योगबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको अध्यक्ष सुभाष संकल्प श्रेष्ठले जानकारी दिनुभयो ।




















