इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको समूहले बुधबार मनोनयन दर्ता गराएको छ। संघको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिरहेका बेला भण्डारी समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्दै चुनावी प्रतिस्पर्धामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो।
भण्डारीले आफूलाई अनुभव, ऊर्जा र स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको साझा हितका लागि नेतृत्व आवश्यक रहेको बताएकी छन्। उनले उद्योग वाणिज्य संघलाई अझ समावेशी, व्यवसायीमैत्री र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
इटहरीको व्यापारिक क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारी यसअघि उद्योग वाणिज्य संघको सदस्य तथा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी व्यवसायी हुन्। उनी नेतृत्वमा पुगे उद्योग वाणिज्य संघ इटहरीको इतिहासमै पहिलो महिला अध्यक्ष बन्ने सम्भावना रहेको बताइन्छ। 
निर्वाचनमा अध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धा नवराज काफ्ले र गायत्री कटुवाल भण्डारीबीच हुने देखिएको छ। प्रारम्भिक चरणमा अन्य आकांक्षीहरू देखिए पनि अन्ततः दुई पक्षीय प्रतिस्पर्धा हुने अवस्था बनेको छ। काफ्ले समूहलाई नेपाली कांग्रेस र एमाले निकट व्यवसायीहरूको समर्थन रहेको बताइँदा भण्डारी समूहलाई रास्वपा तथा माओवादी केन्द्र निकट व्यवसायीहरूको साथ रहेको चर्चा छ।
यसपटक उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा करिब २ हजार ३ सय ६५ जना नवीकरण भएका सदस्य मतदाताले मतदान गर्नेछन्। बजार क्षेत्रका मतदातालाई निर्णायक मानिएको छ र दुवै पक्षले उनीहरूलाई आफ्नो पक्षमा आकर्षित गर्न चुनावी अभियान तीव्र बनाएका छन्। 
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार २७ गते मतदान सम्पन्न हुने र सोही दिन मतगणनापछि नतिजा घोषणा गरिनेछ।




















