सुनसरी । हरिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५९ करोड ७९ लाख १८ हजार २ सय २९ रुपैयाँ बराबरको आय–व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष रिमझिम कुमारी भगत ले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, महिला तथा बालबालिका विकास, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष गफार अन्सारी मिया का अनुसार बजेटका लागि मुख्य स्रोत संघीय सरकार, प्रदेश सरकार तथा राजस्व बाँडफाँड रहेका छन्। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १२ करोड ४४ लाख रुपैयाँ, सशर्त अनुदान २५ करोड १३ लाख रुपैयाँ, समपूरक अनुदान ७० लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५० लाख रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ११ करोड ३४ लाख १० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

बजेटले गाउँपालिकाभित्रका सडक, नाला, पुल तथा कल्भर्ट निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिएको छ। यस्तै, विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, विद्यालय भवन निर्माण तथा मर्मत, स्वास्थ्य संस्थाको सेवा विस्तार, औषधि व्यवस्थापन तथा स्वास्थ्य उपकरण खरिदका कार्यक्रमहरू समेटिएका छन्।

कृषि क्षेत्रको आधुनिकीकरण, किसानलाई अनुदान, सिँचाइ विस्तार, उन्नत बीउबिजन वितरण तथा पशुपालन प्रवर्द्धनका कार्यक्रमलाई पनि बजेटमा विशेष महत्व दिइएको छ। बेरोजगार युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम, उद्यमशीलता विकास तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

महिला सशक्तीकरण, बालबालिका संरक्षण, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदायको उत्थानका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। साथै, खेलकुद विकास, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएका छन्।

गाउँसभामा प्रमुख अतिथिका रूपमा बोल्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इन्स्राईल मन्सुरी ले हरिनगर गाउँपालिकाको विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग र बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल भई निर्धारित समयभित्र सर्वसम्मत रूपमा पारित हुने विश्वास अध्यक्ष मियाले व्यक्त गर्नुभयो। बजेट तर्जुमा प्रक्रियामा सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, विषयगत समिति, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै गाउँपालिकाको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै समावेशी तथा दिगो विकासको लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ।