खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ स्थित चिसापानी नमुना माध्यमिक विद्यालयमा जातीय विभेद तथा छुवाछुत उन्मूलन र दलित अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष अरुणा देवी राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईं, कार्यपालिका सदस्य तारा कोइराला, ध्रुव विश्वकर्मा, वडा महिला सदस्य गीता परियार, विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतलगायतको सहभागिता रहेको थियो।

समाजमा अझै विद्यमान जातीय विभेद र छुवाछुतका घटनालाई न्यूनीकरण गर्दै दलित तथा गैरदलित समुदायबीच समानता, सहअस्तित्व र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो।IMG-20260622-WA0008

उहाँले नयाँ मुलुकी ऐन, २०२० ले छुवाछुतलाई कानुनी रूपमा निषेध गरेको र नेपालको संविधानको धारा ४० ले दलित समुदायका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कानुनी व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा विभेद कायम रहेकाले जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।IMG-20260622-WA0010

सार्वजनिक स्थल, मन्दिर, धारा–पँधेरा तथा अन्तरजातीय विवाहजस्ता विषयमा हुने विभेद कानुनविपरीत रहेको र यस्ता कार्यमा संलग्नलाई सजायको व्यवस्था रहेको जानकारी दिँदै अध्यक्ष राईले विद्यार्थी तथा समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो।

उपाध्यक्ष खेमबहादुर खड्काले समाजमा गहिरो रूपमा जरा गाडेको जातीय विभेद अन्त्य गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंले दलित समुदायले आफ्नो हक–अधिकारबारे जानकारी पाए राज्यका विभिन्न निकायमा उनीहरूको प्रतिनिधित्व र पहुँच अझ बढ्ने बताउनुभयो।

जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग तथा महिला एकता अध्ययन केन्द्र खोटाङको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष दुर्गा जयन्ती राईले गर्नुभएको थियो। स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख जेनिसा तिम्सिनाले राख्नुभएको कार्यक्रमको सहजीकरण अधिवक्ता सानु कार्की बस्नेतले गर्नुभएको थियो।IMG-20260622-WA0009

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थीसहित ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो। आयोजकका अनुसार जातीय विभेद तथा छुवाछुत उन्मूलनसम्बन्धी यस्तै अन्तरक्रिया कार्यक्रम गाउँपालिकाको काउले र डम्बरखुमा क्षेत्रमा पनि सञ्चालन गरिएकाे छ ।