इटहरी । नेपाली सेना पूर्वी पृतना मुख्यालयले आयोजना गरेको “अङ्ग्रेज–नेपाल युद्ध र यसको प्रभाव” विषयक ज्ञानमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सैनिक जनशक्तिमा नेपालको गौरवपूर्ण इतिहास, राष्ट्रिय एकता तथा सार्वभौमिकता संरक्षणमा नेपाली सेनाले खेलेको भूमिकाबारे थप जानकारी अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद पोखरेल ले सहजीकरण गर्दै अङ्ग्रेज–नेपाल युद्ध (वि.सं. १८७१–१८७३) को ऐतिहासिक पृष्ठभूमि, युद्धका कारण, प्रमुख घटनाक्रम तथा त्यसले नेपालको राजनीतिक, सामाजिक र कूटनीतिक क्षेत्रमा पारेको प्रभावबारे प्रकाश पार्नुभयो। उहाँले सीमित स्रोत–साधनका बाबजुद नेपाली सेनाले प्रदर्शन गरेको साहस, रणनीतिक क्षमता र राष्ट्रप्रतिको समर्पणले नेपालको स्वतन्त्र अस्तित्व तथा राष्ट्रिय पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

उहाँले युद्धपछिको अवस्थामा नेपालको सीमाना, अन्तर्राष्ट्रिय सम्बन्ध र राज्य संरचनामा आएका परिवर्तनबारे पनि चर्चा गर्दै इतिहासका यस्ता महत्वपूर्ण घटनाबाट वर्तमान पुस्ताले राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र देशप्रतिको जिम्मेवारीबोधका विषयमा प्रेरणा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता कर्णेल शैलेन्द्र कोइराला ले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यमा उहाँले नेपाली सेनाले विगतदेखि वर्तमानसम्म राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षाको संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। साथै, इतिहासबाट सिकाइ लिँदै भविष्यका चुनौती सामना गर्न सक्षम, जिम्मेवार र राष्ट्रप्रेमी जनशक्ति निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी सैनिक अधिकृत तथा जवानहरूले अङ्ग्रेज–नेपाल युद्धका ऐतिहासिक पक्षहरूबारे जानकारी हासिल गर्नुका साथै राष्ट्रिय सुरक्षा र राष्ट्रनिर्माणमा इतिहासको महत्वबारे अन्तरक्रियात्मक छलफल गरेका थिए।