इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले फेसबुकमा सार्वजनिक गरेको लामो स्टाटसपछि नगरको राजनीतिक वातावरण फेरि एकपटक तातिएको छ। आफूमाथि “योजनाबद्ध साइबर आक्रमण, मिडिया ट्रायल र चरित्रहत्या” भइरहेको दाबी गर्दै उनले सार्वजनिक गरेको अभिव्यक्तिले इटहरीको राजनीतिक वृत्तमा गम्भीर विवाद र आलोचनाको आँधी ल्याएको छ।
मेयर पौडेलले आफू तीन दशकदेखि विद्यार्थी राजनीति, पार्टी संगठन र सामाजिक आन्दोलनमार्फत जनसेवामा सक्रिय रहेको दाबी गर्दै केही प्रभावशाली समूह, व्यवसायी, स्वघोषित बुद्धिजीवी र मिडिया क्षेत्रबाट निरन्तर आक्रमण भइरहेको आरोप लगाएका छन्। निर्वाचनमा आफूलाई हराउन शक्तिकेन्द्रहरू एकजुट भए पनि जनताको साथले सफल हुन नसकेको उनको दाबी छ।
तर उनको यो स्टाटसपछि सामाजिक सञ्जालमै तीव्र प्रतिक्रिया देखिएको छ। धेरैले मेयरको अभिव्यक्तिलाई आत्मसमीक्षाभन्दा बढी “आफूलाई पीडित देखाउने प्रयास” भन्दै आलोचना गरेका छन्।
व्यवसायी तथा फेन्सी व्यवसायी महासंघका केन्द्रीय सदस्य महेन्द्र गुरागाईंले नेतृत्वको मूल्यांकन शब्द होइन, कामबाट हुने भन्दै आलोचनालाई षड्यन्त्र भनेर टार्नु लोकतान्त्रिक संस्कार नभएको टिप्पणी गरेका छन्।
नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले विगतमा व्यापक समर्थन पाएर निर्वाचित भएको नेतृत्वले अपेक्षाअनुसारको दीर्घकालीन उपलब्धि दिन नसकेको भन्दै प्रश्न उठाएका छन्।
त्यस्तै नेकपाका पुराना नेता मुक्तिनाथ रिजालले इटहरीको आशा क्रमशः निराशामा बदलिँदै गएको दाबी गर्दै नेतृत्व र नागरिकबीच दूरी बढेको आरोप लगाएका छन्।
सामाजिक अभियन्ता विकास भण्डारीले मेयरको कार्यशैलीमा व्यक्तिवाद, अहमता र संकुचित सोच हाबी भएको आरोप लगाउँदै सुशासन र पारदर्शितामा कमजोर प्रदर्शन भएको टिप्पणी गरेका छन्।
स्थानीय नागरिक नारायण गोदार थापाले भने फेसबुकमा लामो स्पष्टीकरण दिनुभन्दा विकास निर्माणको वास्तविक अनुगमनमा ध्यान दिन सुझाव दिएका छन्।
यसबीच मेयर पौडेलले आलोचनात्मक टिप्पणी गर्ने केही व्यक्तिहरूलाई ब्लक गरेको तथा कमेन्ट हटाएको आरोप पनि सार्वजनिक भएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि थप प्रश्न उठाएको छ।
मेयर पौडेल भने आफ्ना आलोचनाको जवाफ सामाजिक सञ्जालमै दिन आवश्यक नरहेको बताउँदै अन्तिम मूल्यांकन जनता, समय र इतिहासले गर्ने दाबी गरिरहेका छन्।
समग्रमा हेर्दा इटहरीको नेतृत्व, सुशासन र विकासको मुद्दा फेरि विवादको केन्द्रमा पुगेको छ। एकातिर आलोचकहरूले जवाफदेहिताको माग तीव्र बनाइरहेका छन् भने अर्कोतर्फ समर्थकहरूले मेयरमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै आएका छन्।



















