इटहरी । स्वास्थ्यप्रति बढ्दो जनचासो र सक्रिय जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले इटहरीमा नयाँ फिटनेस सेन्टर सञ्चालनमा आएको छ। सुनसरीको इटहरी–आपगाछीमा युवा व्यवसायी दीपक बिष्टले ‘गोरखाली फिटनेस’ सञ्चालनमा ल्याएका हुन्।
बुधबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका बडिबिल्डर ललित धिमाल, खेलकर्मी राम दाहाल तथा रतन कार्कीले संयुक्त रूपमा फिटनेस सेन्टरको उद्घाटन गरे। कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, शिक्षक, जनप्रतिनिधि, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सञ्चालक बिष्टका अनुसार आधुनिक उपकरण र अनुभवी प्रशिक्षकसहित सञ्चालनमा आएको केन्द्रले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि विभिन्न फिटनेस सेवा उपलब्ध गराउनेछ। केन्द्रमा कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, फङ्सनल वर्कआउट, जुम्बा तथा व्यक्तिगत फिटनेस प्रशिक्षणको व्यवस्था गरिएको छ।
“स्वस्थ जीवनशैलीको विकास र फिटनेसप्रति सकारात्मक सोच विस्तार गर्नु हाम्रो मुख्य उद्देश्य हो,” बिष्टले बताए।
फिटनेस सेन्टरमा नवीनतम प्रविधियुक्त उपकरण जडान गरिएको छ भने सदस्यहरूको आवश्यकता अनुसार व्यक्तिगत व्यायाम योजना तयार गर्ने व्यवस्था पनि रहेको जनाइएको छ।
पछिल्ला वर्षहरूमा स्वास्थ्य र शारीरिक तन्दुरुस्तीप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको अवस्थामा ‘गोरखाली फिटनेस’ ले इटहरीमा फिटनेस संस्कृतिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै गुणस्तरीय फिटनेस सेवा उपलब्ध हुँदा स्वस्थ समाज निर्माणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।




















