सुनसरी। महुली लघुवित्त वित्तीय संस्था लिमिटेड बाङ्गे तथा चतरा शाखाको संयुक्त आयोजनामा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट १२० भन्दा बढी स्थानीय बासिन्दा तथा संस्थामा आबद्ध सदस्यहरू लाभान्वित भएका छन्। संस्थाको १४औँ वार्षिकोत्सवको अवसर पारेर बराहक्षेत्र नगरपालिका वडा नं. ७ स्थित बाङ्गे शाखा कार्यालय परिसरमा आयोजना गरिएको उक्त शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्नुका साथै उपचार अभावमा रहेका विपन्न नागरिकको पहिचान गर्न समेत महत्वपूर्ण भूमिका खेलेको छ।
शिविर बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता तथा वडा नं. ७ का वडा अध्यक्ष कपिल आचार्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अस्थायी प्रहरी चौकीका प्रमुख गोविन्द खत्री, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सान्वी सिटी हस्पिटल प्रालि इटहरी–१६, सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विभिन्न प्रकारका रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो। परीक्षणका क्रममा थप उपचार आवश्यक रहेका बिरामीहरूलाई शतप्रतिशत तथा ५० प्रतिशत छुट सुविधासहित सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको आयोजकले जनाएको छ।
स्वास्थ्य परीक्षणकै क्रममा बराहक्षेत्र नगरपालिका वडा नं. ३ निवासी कमला कार्कीकी तीन वर्षीया भतिजीको स्वास्थ्य अवस्था जटिल रहेको र परिवारको आर्थिक अवस्था कमजोर भएको तथ्य खुलेको थियो। अभिभावकविहीन अवस्थामा हजुरआमाको संरक्षणमा रहेकी ती बालिकाको उपचारका लागि नगर प्रमुख रमेश कार्कीले नगर अस्पतालमार्फत आवश्यक प्राविधिक सहयोग तथा उपचार प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले महुली लघुवित्तले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा र समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको प्रशंसा गरे। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई आधारभूत सेवामा पहुँच विस्तार गर्नुका साथै स्थानीयको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो। उनले उपचार अभावमा रहेका विपन्न तथा असहाय नागरिकको पहिचान गरी आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सिफारिस गर्न समेत आग्रह गरे।
विशिष्ट अतिथि वडा अध्यक्ष कपिल आचार्यले महुली लघुवित्त केवल वित्तीय कारोबार गर्ने संस्था मात्र नभई समाजप्रति उत्तरदायी संस्थाका रूपमा स्थापित हुँदै गएको बताए। उनले संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका सीपमूलक तालिम, सदस्य अन्तरक्रिया, स्वास्थ्य शिविर तथा अन्य सामाजिक कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्दै चतरा शाखाका निमित्त शाखा प्रमुख ज्ञानेन्द्र पोखरेलले स्वास्थ्य शिविरबाट संस्थाका सदस्य तथा स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए। उनले शिविरका क्रममा सदस्यहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको स्वास्थ्य अवस्था तथा आवश्यकताबारे जानकारी लिइएको र आवश्यकता अनुसार थप उपचारका लागि सिफारिस गरिएको जानकारी दिए। आगामी दिनमा पनि समुदायको हितलाई केन्द्रमा राखेर यस्ता सामाजिक तथा जनकल्याणकारी कार्यक्रम सञ्चालन गरिने उनको प्रतिबद्धता थियो।
कार्यक्रमका बारेमा जानकारी दिँदै महुली लघुवित्त बाङ्गे शाखाका शाखा प्रमुख मदन अधिकारीले संस्थाको १४औँ वार्षिकोत्सवलाई समुदायसँग जोड्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको बताए। उनका अनुसार शिविर केवल सामान्य स्वास्थ्य परीक्षणमा सीमित नभई वास्तविक समस्या भएका नागरिकको पहिचान, उपचारको पहुँच विस्तार तथा सामाजिक सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा तथा संस्थाका सदस्यहरूले शिविर प्रभावकारी र परिणाममुखी रहेको प्रतिक्रिया दिएका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेका बेला महुली लघुवित्तले सञ्चालन गरेको यस्तो निःशुल्क स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई ठूलो राहत पुगेको उनीहरूको भनाइ थियो। उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।




















