इटहरी । विश्वभर विश्वकप फुटबलको रौनक छाइरहेका बेला गायक सुपर सुरेशको उपनामले परिचित सुरेश कार्कीले आफ्नो नयाँ सांगीतिक कोसेली ‘गोल गोल’ दर्शकमाझ ल्याएका छन् । ‘रेश्मा’ बोलको गीतबाट दर्शक तथा स्रोताको मन जितेका सुरेशले लामो समयको प्रतीक्षापछि दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

विश्वकप शुभारम्भको विशेष अवसर पारेर जेठ २८ गते युट्युबमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरिएको यो गीत तयार पार्न सुरेश र उनको टिमलाई १६ महिनाभन्दा बढी समय लागेको थियो। गीत निर्माणको यात्रामा प्राविधिक चुनौतीसँगै टिमका सदस्यको परिवारमा देखिएको गम्भीर स्वास्थ्य समस्याले पनि कामलाई प्रभावित पारेको थियो। यस्ता कठिन परिस्थितिबीच पनि टिमले आफ्नो मेहनतलाई निरन्तरता दिँदै अन्ततः ‘गोल गोल’लाई दर्शकमाझ ल्याउन सफल भएको हो।

गायक सुरेश कार्कीका अनुसार ठूलो दुःख, संघर्ष र मेहनतपछि उच्च अपेक्षाका साथ यो सिर्जना तयार गरिएको हो। उनले यो गीतले विश्वकपको उत्साहलाई संगीतमार्फत दर्शकमाझ प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।

गीत सार्वजनिक हुनुभन्दा एक दिनअघि अर्थात् जेठ २७ गते चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको आयोजनामा विशेष प्रिमियर कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा उपस्थित सञ्चारकर्मी, कलाकार तथा सांगीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूले गीत र भिडियोको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

‘गोल गोल’को शब्द, संगीत तथा स्वर स्वयं सुपर सुरेशकै रहेको छ। गीतको अडियो निर्माण, भिडियो निर्देशन तथा सम्पादन अशेष लुइटेलले गरेका छन्। लुइटेल ब्रोज र फोटो क्लिकर्सको संयुक्त प्रोडक्सनमा निर्माण गरिएको भिडियोको छायांकन पवन सिग्देलले गरेका छन् भने मुख्य सहायक निर्देशन तथा मोसन र पोस्टर डिजाइनको जिम्मेवारी हिमेश तिमल्सिनाले सम्हालेका छन्।

यसैगरी भिडियोको कलर, सहायक सम्पादन तथा डीआईटीको काम जेसिस भट्टराईले गरेका छन्। उत्पादन व्यवस्थापकमा रत्न बहादुर कार्की र सहायक उत्पादन व्यवस्थापकमा रबिन दाहाल रहेका छन्। अनुभवी तथा युवा सर्जकहरूको संयुक्त प्रयासले अडियो र भिडियो दुवै पक्षलाई आकर्षक बनाउने प्रयास गरिएको निर्माण टिमले जनाएको छ।

स्वास्थ्य समस्या, समय र विभिन्न प्राविधिक चुनौतीलाई पार गर्दै तयार पारिएको ‘गोल गोल’ले विश्वकप फुटबलको उत्साहलाई थप रोमाञ्चक बनाउने तथा सुपर सुरेशको अघिल्लो सफल गीत ‘रेश्मा’ जस्तै दर्शकबाट माया पाउने निर्माण पक्षको विश्वास रहेको छ।