होमिका श्रेष्ठ
इलाम । इलामको सूर्योदय नगरपालिकामा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी सडकबाट करिब १०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सूर्योदय नगरपालिका–४ खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी आज मध्यान्ह अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राईलाई उपचारका लागि फिक्कल अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा दिउँसो १ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा सहचालक सूर्योदय–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाइबा घाइते भएका छन्। उनको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ।
त्यसैगरी, सोही दुर्घटनामा घाइते भएका सूर्योदय नगरपालिका–४ कै ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




















