होमिका श्रेष्ठ

झापा । झापाको कन्काई नगरपालिका क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा छाडिएको ठूलो परिमाणको अवैध माछा बरामद गरी नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले कन्काई नगरपालिका–५ चप्रामारी क्षेत्रमा विभिन्न जातका करिब १४० किलो माछा फेला पारेको हो। प्रहरीले बरामद गरेको माछाको अनुमानित बजार मूल्य ५६ हजार रुपैयाँ रहेको जनाएको छ।

प्रहरीका अनुसार माछा बेवारिसे अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङगामा ल्याइएको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा कन्काई नगरपालिका–३ स्थित कुमार पुरीको खाली जग्गामा खाल्डो खनी माछा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

अवैध रूपमा भित्र्याइएका वा स्रोत नखुलेका खाद्यवस्तुमाथि निगरानीलाई तीव्र बनाइएको प्रहरीले बताएको छ।