सुनसरी । मनसुन नजिकिँदै जाँदा सम्भावित बाढी, डुबान र सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधिलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले सुनसरीका सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं।१ बराह बाहिनी मुख्यालय पकलीले मातहतका सबै युनिटलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको हो।
बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मनिष थापाले शनिबार सुनसरीका विभिन्न सीमा सुरक्षा पोस्ट र गुल्महरूको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। निरीक्षणका क्रममा उनले सशस्त्र प्रहरी बल नेपाल नं।४ गण हेडक्वार्टर सुनसरी मातहत रहेका बिओपी अमडुवा, साहेबगञ्ज, हर्वोनी तथा सीमान्त सुरक्षा गुल्म कप्तानगञ्जको अनुगमन गरेका थिए।
डीआईजी थापाले सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी, लागूऔषध ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणमा थप सक्रियता बढाउन निर्देशन दिएका छन्। उनले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी अझ प्रभावकारी बनाउन र शंकास्पद गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षाकर्मीलाई सचेत गराएका छन्।
त्यस्तै, मनसुन सुरु हुन लागेकाले सम्भावित प्राकृतिक विपद्लाई ध्यानमा राख्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई २४सै घण्टा तयारी अवस्थामा रहन भनिएको छ। बाढी, डुबान तथा उद्धार कार्यका लागि आवश्यक जनशक्ति र सामग्री तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ। डीआईजी थापाले स्थानीय तह, जनप्रतिनिधि र समुदायसँग समन्वय बढाएर काम गर्नुपर्नेमा जोड दिएका छन्। कुनै पनि आपत्कालीन अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा संयन्त्रलाई चुस्त राख्न उनले मातहतका युनिटलाई निर्देशन दिएका हुन्।
मनसुनको समय नजिकिँदै जाँदा सुनसरीका सीमावर्ती तथा नदी आसपासका क्षेत्र उच्च जोखिममा पर्ने भएकाले सशस्त्र प्रहरीले सुरक्षा र विपद् प्रतिकार्य दुवै क्षेत्रमा तयारी तीव्र बनाएको जनाएको छ।




















