सुनसरी । सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय सुनसरीको सरकारी गाडी मोरङमा दुर्घटनामा परेको छ । आइतबार बिहान मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित ज्योति स्कुल नजिक सुनसरी प्रशासनको १-०२-००१ झ ०८६६ नम्बरको महेन्द्रा पिकअप पल्टिएको अवस्थामा फेला परेको हो ।
दुर्घटनाका बेला गाडी जिल्ला प्रशासन कार्यालय सुनसरीका चालक रामचन्द्र आचार्यले चलाइरहेका थिए । स्थानीयका अनुसार चालकले सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको तथा मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ । उनी शनिबार राति आफन्तको घरमा सरकारी गाडी लिएर आएको र आइतबार बिहान परिवारका सदस्यलाई लिएर जंगलतर्फ गएको स्थानीयको दाबी छ ।फर्किने क्रममा तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको बताइएको छ । दुर्घटनापछि गाडी धानबारीमा पल्टिएको अवस्थामा फेला परेको थियो ।
घटनास्थल पुगेका गछिया प्रहरी चौकीका सई बिजय श्रेष्ठका अनुसार चालकलाई नियन्त्रणमा लिइएको छ भने मादक पदार्थ सेवन गरेको हो वा होइन भन्ने विषय स्वास्थ्य परीक्षणपछि मात्रै पुष्टि हुने बताइएको छ ।
उक्त गाडी सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने चढ्ने सरकारी सवारी रहेको खुलेको छ । न्यौपानेले शनिबार साँझ चालकले गाडी लगेको स्वीकार गर्दै फर्किने क्रममा दुर्घटना भएको जानकारी दिएका छन् । घटनापछि स्थानीयले सार्वजनिक बिदाको दिन सरकारी सवारीको दुरुपयोग भएको भन्दै छानबिन र कारबाहीको माग गरेका छन् ।




















