इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ मा रहेको पूर्वाञ्चल आइसक्रीम पार्लर रहेको भवनमा बुधबार भीषण आगलागी भएको छ। अचानक लागेको आगोले केही समयमै विकराल रूप लिँदा स्थानीयवासीमा त्रास फैलिएको थियो।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी, सुरक्षाकर्मी तथा सर्वसाधारण आगो नियन्त्रणमा जुटेका थिए। इटहरी क्षेत्रमा हालै भएको आन्दोलनका क्रममा दम्कलमा पूर्ण रूपमा क्षति पुगेको कारण तत्काल स्थानीय स्तरबाट पर्याप्त स्रोतसाधन परिचालन गर्न कठिनाइ भएको थियो।
त्यसपछि छिमेकी सहरहरू धरान, विराटनगर, सुन्दरहरैंचा र दुहबीबाट दम्कल झिकाइ आगो नियन्त्रणमा लिइएको हो। विभिन्न स्थानबाट आएका दम्कल तथा सुरक्षाकर्मीको सक्रियताले केही घण्टापछि आगो नियन्त्रणमा आएको जनाइएको छ।
आगलागीबाट के कति क्षति भयो भन्नेबारे यकिन विवरण आउन बाँकी रहेको छ। साथै, आगलागीको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















