इटहरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले देश अहिले ‘राजनीतिक लोडसेडिङ’ र अँध्यारोको अवस्थामा रहेको बताएका छन् ।
धरान उपमहानगरपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देशमा देखिएको विविध ‘लोडसेडिङ’ अन्त्य गरी हरेक नागरिकको जीवनमा उज्यालो ल्याउने उद्देश्यसहित पार्टी स्थापना गरिएको बताए । देशलाई समृद्धि र आर्थिक रूपान्तरणतर्फ अघि बढाउने लक्ष्य पार्टीले लिएको उनको भनाइ थियो ।
‘हाम्रो पार्टी तीन महिनामा दर्ता भएर बीचमा केही समय अलमल भए पनि हामी फेरि उठेर सशक्त रूपमा अघि आएको छौं,' उनले भने, 'उज्यालो नेपाल पार्टीले देशमा बत्ती ल्याएर आएको छ । यो बत्ती अब कहिल्यै निभ्ने छैन र निभ्न नदिन तपाईंहरूले साथ दिनु आवश्यक छ ।’
ऊर्जा क्षेत्रको अनुभव उल्लेख गर्दै घिसिङले आफ्नो नेतृत्वमा विगतमा लोडसेडिङ अन्त्य, विद्युत् वितरण विस्तार, व्यवस्थापन सुधार तथा नेपाल विद्युत् प्राधिकरणलाई घाटाबाट नाफामा पुर्याएको बताए । साथै भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरिएको स्मरण गराए । उनले भने, ‘देशमा केवल विद्युत् होइन, सम्पूर्ण प्रणालीमै लोडसेडिङ छ । त्यो अँध्यारोलाई हटाउन र जीवन उज्यालो बनाउन उज्यालो नेपाल पार्टी मात्र सक्षम छ ।’
स्वास्थ्य, शिक्षा, सिँचाइ, उद्योग र स्थानीय आर्थिक विकासमा परिणाममुखी लगानी आवश्यक रहेको उनले औंल्याए । चिलिमे हाइड्रोपावरमार्फत स्थानीयलाई सेयर वितरण र रोजगारी सिर्जना गरिएको उदाहरण दिँदै आर्थिक रूपान्तरणको आधार तयार भइसकेको बताए ।
विकास आयोजनामा प्राथमिकता निर्धारणको अभाव रहेको उल्लेख गर्दै उनले झापाको कन्काई पुल लामो समयसम्म निर्माण हुन नसकेको उदाहरण प्रस्तुत गरे । कम प्राथमिकताका संरचना छिटो सम्पन्न हुनु स्पष्ट र व्यवस्थित लगानी नीतिको अभाव भएको संकेत भएको उनको भनाइ थियो । ‘सही योजना र दृढ नेतृत्वबिना देशमा विकास सम्भव छैन,’ उनले थपे ।
पार्टीको एजेन्डा गरिब, सुकुम्बासी, स्वास्थ्य, शिक्षा र उद्योग सुधारमा केन्द्रित रहेको जनाउँदै उनले सुनसरी–१ का उम्मेदवार डम्बर लावती (जेन्टल)लाई विजयी गराउन आग्रह गरे ।




















