सिरहा । सिरहा कारागारमा पेस्तोल र नगद बरामद भएपछि कैदीहरूले विरोध प्रदर्शन गर्दा प्रशासनको सुरक्षा सतर्कता कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० सुरेन्द्र पौडेलको नेतृत्वमा कारागारको सुरक्षा व्यवस्थाबारे जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ।
गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनमा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो। सोही क्रममा यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो।
नाइके यादवलाई कारागारबाट हटाइएको विरोधमा कैदीहरूले छतमाथि बसेर दिनभर र रातभर नाराबाजी गरेका थिए। उनीहरूले ‘इन्द्रजित दाइ चाहियो’, ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ जस्ता नारा लगाएका थिए। राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरे पनि तनाव पूर्ण रूपमा रोकिएको छैन।प्रजिअ पौडेलले कारागारभित्र मदिरा, लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र जबरजस्ती चन्दा असुली भएकाले विशेष अपरेसन गरिएको बताए। अनुगमनमा हतियार, गोली, नगद, चुरोट र सुर्तिजस्ता प्रतिबन्धित सामग्री फेला परेको थियो।
सिरहा कारागारमा १५० कैदी राख्ने क्षमता भए पनि हाल ४३६ जना कैदी छन्। नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाँका, अपहरण, ज्यान मार्ने उद्योग र लागुऔषधसम्बन्धी गम्भीर मुद्दामा जेल परेका थिए। प्रशासनले सुरक्षा कडा पार्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।




















