भोजपुर । स्थानीयस्तरमा आयोजना हुने खेलकुद प्रतियोगिता तथा सांस्कृतिक मेला–महोत्सवले भोजपुरमा पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउँदै लगेका छन्। यस्ता कार्यक्रमका अवसरमा जिल्लाभित्र र बाहिरबाट आउने खेलाडी, दर्शक र खेलप्रेमीको उपस्थितिले स्थानीय पर्यटन र व्यवसायमा सकारात्मक प्रभाव परेको स्थानीयवासीको भनाइ छ।

खेलकुदलाई पर्यटन प्रवर्द्धनको आधार बनाउँदै भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै तेस्रो पौवादुङमा गोल्डकप तथा माघी मेला सफलतापूर्वक सम्पन्न गरेको छ। प्रतियोगिता तथा मेलाका कारण छिमेकी जिल्ला र देशका विभिन्न स्थानबाट आएका आगन्तुकको बाक्लो उपस्थितिले गाउँको पर्यटन र व्यापार क्षेत्र चलायमान बनेको हो।

गोल्डकप तथा माघी मेलाका अवसरमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो। घरेलु कृषि उपज, हस्तकला सामग्री र परम्परागत खानाका स्टलहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए। यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नुका साथै किसान र उद्यमीलाई प्रोत्साहन मिलेको गाउँपालिकाले जनाएको छ।

शुक्रबार सम्पन्न प्रतियोगिता तथा मेलामा गाउँपालिकाका विभिन्न वडासहित छिमेकी जिल्ला र अन्य स्थानबाट खेलाडी, प्रशिक्षक, दर्शक र खेलप्रेमीको उल्लेख्य उपस्थिति देखिएको थियो। बाहिरबाट आएका आगन्तुकका कारण होटल, रेस्टुरेन्ट र यातायात व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए।

यस्ता प्रतियोगिता हुँदा बाहिरबाट धेरै मानिस आउँछन्,” उनले भने, “यसले खेलकुदसँगै गाउँको पहिचान बढाएको छ। होटल तथा व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुगेको छ।”

खेलकुद क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले विगतका वर्षदेखि नै गोल्डकप तथा माघी मेला आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रममार्फत स्थानीय सम्भावना उजागर गर्दै गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने रणनीति लिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार खेलकुद प्रतियोगिता तथा मेला–महोत्सवले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। “खेलकुद र संस्कृति जोडिएका कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ,” उनले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यवस्थित बनाउने योजना छ।