इटहरी । युवाहरूमा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि तथा स्वर्गीय लायन नारनाथ सापकोटाको योगदानको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि इटहरीमा सुरु हुने भएको छ।

प्रतियोगिताबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा Leo District Council 325 C Nepal का डिस्ट्रिक्ट प्रेसिडेन्ट मनोज तिवारीले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, टिम भावना र सामाजिक उत्तरदायित्व विकास गर्ने प्रभावकारी माध्यम भएको बताए।20260618_165112

उनले स्वर्गीय लायन नारनाथ सापकोटाले समाजसेवा र युवा नेतृत्व विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै युवाहरूलाई सकारात्मक दिशामा प्रेरित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। “खेलकुदले युवालाई सिर्जनशील र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्छ,” उनले भने।

आयोजकका अनुसार प्रतियोगितामा मोरङ र सुनसरीका आठ लियो क्लबहरूको सहभागिता रहनेछ। विजेता र उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।20260618_165311

प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन सहभागी टोलीका प्रतिनिधिहरूको उपस्थितिमा शुक्रबार नै खेल तालिका (टाइ–सिट) सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाअनुसार खेलहरू शनिबार बिहान ९ बजेदेखि सञ्चालन हुनेछन्।

सहआयोजक Leo Club of Itahari Smart City का अध्यक्ष सुरेन्द्र थापाले प्रतियोगिताको प्रत्यक्ष प्रसारण मेरो गन्तव्य टेलिभिजन मार्फत गरिने जानकारी दिए। यसले देश तथा विदेशमा रहेका खेलप्रेमीहरूलाई पनि प्रतियोगितासँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास गरिएको छ।20260618_170241

आयोजकले प्रतियोगिताले युवाहरूबीच खेल संस्कृतिको प्रवर्द्धन, सामाजिक सद्भाव, भाइचारा तथा आपसी सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरेको जनाएको छ।