सुनसरी । लघुवित्त क्षेत्रमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित लघुवित्त कर्मचारी मिलन केन्द्र सुनसरीद्वारा आयोजित तेस्रो वनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिबार आयोजना गरिएको उक्त वनभोज कार्यक्रममा सुनसरी जिल्लामा क्रियाशील विभिन्न लघुवित्त वित्तीय संस्था, बैंक तथा सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम बराहक्षेत्र नगरपालिका–५ स्थित अमाह सिमसार क्षेत्रमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै लघुवित्त कर्मचारी मिलन केन्द्र सुनसरीका अध्यक्ष तथा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, इटहरी शाखाका शाखा प्रमुख जेपी गेलालले यस्ता अतिरिक्त तथा सामाजिक क्रियाकलापले कर्मचारी वर्गमा नयाँ ऊर्जा थप्ने र संस्थागत कार्यसम्पादनमा सहकार्य र समन्वय सहज हुने बताए । उनले आगामी दिनमा मिलन केन्द्रलाई अझ व्यवस्थित, परिमार्जित र चलायमान बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, लघुवित्त कर्मचारी मिलन केन्द्र सुनसरीका सचिव तथा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँगे शाखा कार्यालयका शाखा प्रमुख मदन अधिकारीले मिलन केन्द्रमार्फत सामाजिक तथा रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै संस्थालाई थप सक्रिय बनाइनुपर्नेमा जोड दिए । उनले लघुवित्तको मर्म र उद्देश्य सम्पूर्ण सरोकारवाला समुदायसम्म पु¥याउनुपर्ने उल्लेख गर्दै जेन–जी पुस्तालाई भविष्यको नेतृत्वमा ल्याउन प्रोत्साहन गर्नु आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
कर्मचारी मिलन केन्द्र सुनसरीका अध्यक्ष जेपी गेलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघुवित्त, बैंक, सहकारीका कर्मचारीहरू, पत्रकार तथा इन्जिनियरहरू गरी ५० भन्दा बढीको सहभागिता रहेको मिलन केन्द्रका सचिव मदन अधिकारीले जानकारी दिए ।
वनभोज कार्यक्रमको सफल संयोजनमा हिमालय लघुवित्त वित्तीय संस्था लिमिटेड, झुम्का शाखाका शाखा प्रमुख नवीन दाहाल, साहारा नेपाल इकाई कार्यालय कालाबन्जरका शाखा प्रमुख जीवन कटुवाल तथा निर्धन लघुवित्त झुम्का शाखाका कर्मचारी कमलेश दासको महत्वपूर्ण भूमिका रहेको थियो।
कार्यक्रमले लघुवित्त क्षेत्रमा कार्यरत कर्मचारीहरूबीच आपसी चिनजान, अनुभव आदान–प्रदान तथा भावनात्मक सम्बन्ध विस्तार गर्न सकारात्मक योगदान पु¥याएको सहभागीहरूले बताएका छन्। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा व्यावसायिक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।




















