इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेको दुई साता नपुग्दै कुलमान घिसिङ अलग हुने निश्चितजस्तै भएको छ । नयाँ समझदारी नबने उज्यालो नेपाल पार्टी (उनेपा) लाई आफ्नै नेतृत्वमा अघि बढाउने निष्कर्षमा घिसिङ पुगेका छन् ।शुक्रबार (हिजो) रास्वपा सभापति रवि लामिछानेसँग भएको छलफलबाट सहमतिको आधार नबनेपछि कुलमान सम्झौता कार्यान्वयन नगर्ने मनस्थितिमा पुगेको उनी निकट नेताहरू बताउँछन् । ‘अब निकै ठूलो सम्झौता भयो भने मात्र रोकिन्छ, नत्र उज्यालो नै अघि बढ्छ,’ एक नेताको दाबी छ ।

स्रोतका अनुसार कुलमानले केन्द्रीय समितिमा संख्या र समानुपातिक सांसदको विषयमा चित्त नबुझेको बताएका थिए।‘सहमति हुँदा दोस्रो वरीयता र केन्द्रीय समितिमा २६ जनाको कुरा भएको थियो,’ उनले भनेका छन्।तर, रास्वपाले २१ जनासम्म मात्र केन्द्रीय सदस्य दिन सकिने र समानुपातिक सांसद सुनिश्चित गर्न नसकिने जवाफ दिएपछि सहमति टुटेको हो।‘अब मिलेर जान सकिने देखिएन,’ उनेपाका एक नेताले भने।

उज्यालो नेपाल पार्टीका नेताहरूसँगको छलफलपछि कुलमान प्रत्यक्ष चुनाव उज्यालोबाट लड्ने र समानुपातिकका लागि अर्को दलसँग सहकार्य गर्ने ‘प्लान बी’ मा अघि बढेका छन्।यद्यपि, केही नेताले अझै रास्वपासँग एकता जोगाउन प्रयास जारी राखे छन् ।