इटहरी । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबार सुरु हुँदैछ । बैठक बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा बस्नेछ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनको रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यसअघि पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले पुस २६ देखि २८ गतेसम्म दोस्रो बैठक आह्वान गरेको थियो।

बैठक मुख्य रूपमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा केन्द्रित रहने बताइएको छ। सचिवालयले प्रदेश संयोजनको जिम्मेवारी र जिल्ला संयोजनको काम टुङ्ग्याइसकेकाले ती विषय अनुमोदनका लागि प्रस्तुत गरिनेछ।

यसका साथै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति गठन गरिसकेको विषयमा पनि छलफल हुनेछ।

बैठकमा महाधिवेशनमा पराजित, पाका तथा कार्यकारी भूमिकाबाट अलग भएका नेताहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठनको तयारीसमेत रहेको छ।