काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) टिमबाट विभाजित समूहले अहिले काठमाडौँको बुद्धनगरमा भेला आयोजना गरिरहेको छ।भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित नेता मुकुल ढकालदेखि रास्वपा सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेसम्म सहभागी छन्। 

लौरो अभियानका कार्यवाहक संयोजक विनोद बजगाईंले  भने, ‘भेलामा स्वतन्त्र उम्मेदवार, मुकुल ढकाल, हरिशरण लामिछानेलगायत धेरै जना साथी सहभागी हुनुहुन्छ। भेला बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा भइरहेको हो।भेलापछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरिने बजगाईंले जानकारी दिए।

बालेनले रास्वपासँग एकता गरेपछि उनलाई स्थानीय चुनावदेखि साथ दिइरहेका केही व्यक्ति असन्तुष्ट भएका हुन्।जसमा लौरो तथा स्वतन्त्र अभियान चलाइरहेका व्यक्ति र केही जेनजी युवासमेत संलग्न छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तसहित बालेन यही पुस १३ गते रास्वपामा समाहित भएपछि उनीहरू रुष्ट भएका हुन्। 

बालेनलाई प्रतिनिधि सभा चुनाव लडाउनकै लागि भनेर २०८० सालतिरै लौरो चुनाव चिह्न लिएर हाम्रो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो।अनन्तराज घिमिरे र रोहन कार्कीलगायतको नेतृत्वमा गठित त्यो पार्टीको नाम पछि परिवर्तन गरेर देश विकास पार्टी राखिएको थियो।

यसअघि रास्वपासँग कुरा नमिल्दा बालेनले देश विकास पार्टीको नेतृत्व गर्ने घोषणा गर्दै जेनजीसहित पुराना र नयाँ सबै दलका नेतासँग पुस पहिलो साता लगातार भेटवार्ता गरेका थिए। तर रास्वपा सभापति रवि लामिछानेसँग दुई चरण लामो वार्तापश्चात् अन्तत: उनले पुस १३ बिहानै एकता समझदारी पत्रमा हस्ताक्षर गरेका थिए- देश विकास पार्टीलाई अलपत्र छाडेर।

अहिले त्यही समूहका व्यक्तिहरू लौरो चिह्न माग्दै विरोधमा उत्रिएका हुन्। जसको नेतृत्व विनोद बजगाईँ, डम्बर शाहु र हरि कार्कीले गरेका छन्।लौरो चिह्नबाट बालेन शाहलाई मेयर जिताएको सो समूहले रास्वपासँग भएको एकता पनि नमान्ने भएको बताएको छ। उनीहरूले यसलाई लौरो अभियान, स्वतन्त्र र जेनजी समूहको साझा कार्यक्रम भनेका छन्।