इटहरी । नेपाली काँग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने भएको छ । विशेष महाधिवेशन उद्घाटन हुने दिन सानेपामा युवा भेला गर्ने निर्णय गरिएको संस्थापन पक्षका एक नेताले बताए ।सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि २७ पुसमा युवा भेला गर्ने निर्णय भएको ती नेताको भनाइ छ । भेलाको संयोजनको जिम्मेवारी नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई दिइएको छ ।
सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरु बरालले युवा भेलाको आयोजना पुष्टि गरेका छन्। उनले भने, ‘२७ गते पार्टी कार्यालयमा युवा–विद्यार्थीको भेला गर्ने भएका छौँ । २८ गतेको बारेमा तय हुँदैछ।’संस्थापन निकट स्रोतका अनुसार २८ पुसमा जिल्ला सभापतिहरूको भेला गरिने तयारी छ । उक्त भेलाको समन्वयको जिम्मेवारी भक्तपुर सभापति दुर्लभ थापा र बागलुङ सभापति जीत शेरचनलाई दिइएको छ।
सभापति देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, एनपी साउद, जीतजङ्ग बस्नेत र गुरु बराललगायतका नेताहरू सहभागी थिए।यस्तै भ्रातृ संगठनका तर्फबाट नेपाल तरुण दलका अध्यक्ष विधान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा र नेपाल महिला संघकी अध्यक्ष उषा राउत पनि छलफलमा सहभागी थिए। यसअघि विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् ।




















