चितवन । चितवनको त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना कामदार बेपत्ता भएका छन्। शनिबार दिउँसोदेखि बेपत्ता भएका उनीहरूको खोजी कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिका निवासी २२ वर्षीय सौरभ थारु रहेका छन्। उनीहरू शनिबार दिउँसो इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिक त्रिशूली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।
नदी किनारमा उनीहरूका कपडा, मोबाइल फोन, चप्पल र लाइटर फेला परेपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ। दुवै जना सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत कामदार रहेको प्रहरीले पुष्टि गरेको छ।
शनिबार साँझसम्म पनि उनीहरू फेला नपरेपछि आइतबार बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको चितवन प्रहरीले जनाएको छ। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ। हाल टोलीले नदीमा निरन्तर खोजी गरिरहेको प्रहरीले जनाएको छ।




















