इटहरी । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)की नेत्री तोसिमा कार्कीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीप्रति आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमा लेख्दै कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले पार्टीले समानुपातिक प्रणालीको अवधारणाविपरीत सूची पेस गरेको आरोपसमेत लगाएकी छन्।

‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो,’ उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाइटल पोष्टमा हुनेहरू नै समानुपातिक सूचीको लागी आकाङ्क्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनुरबनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’

कार्कीले फेसबुकमा कर्णाली र सुदूरपश्चिमका नागरिकसँगको तस्वीर पोष्ट गर्दै लेखेकी छन्, ‘पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचनबाट बनेको होइन, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा। त्यो पनि प्राइमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन। मैले सधैँ भन्ने गरेको छु र फेरि पनि भन्छु, पार्टीको भाइटल पोजिसनमा बस्ने साथीहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ।’