इटहरी । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलप्रति ‘पटके समानुपातिक’ भन्दै कटाक्ष गरेका छन् ।आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू बारम्बार समानुपातिक कोटामा आउनु औचित्य नरहेको भन्दै उनले नेताहरुका कारण यो प्रणालीकै विरोध भएको बताएका छन् ।
एमाले उपाध्यक्ष बादलले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव गरेकोप्रति व्यंग्य गर्दै बास्कोटाले समानुपातिकमा बस्नुभन्दा मिलेर चुनाव लड्न सुझाव दिएका छन् ।राजनीतिक दलहरू मिलेर चुनाव लड्ने सके एकै व्यक्ति पटक–पटक समानुपातिकमा बस्नु आवश्यक नहुने र यसमा दल तथा नेताहरू व्यवहारिक हुनुपर्ने उनको भनाई छ ।
नेता बास्कोटाले पटकपटक समानुपातिकमा बस्न रुचाउने नेताहरूले कांग्रेस–एमाले मिल्दा पनि चुनाव लड्न किन डराउनु परेको भन्दै कटाक्ष गरेका छन्।उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटकपटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो। अझ तिनैले रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रुख–सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।’
उनले शक्तिशाली र लोकप्रिय भन्नेहरू पटकपटक समानुपातिकमा बसेर समावेशीताकै बेइजत भएको र यसमा पुरुष नेताहरू अझ बढी देखिएको उल्लेख गरेका छन्।एमालेले बुझाएको समानुपातिकको बन्दसूचीमा पदाधिकारीबाट उपाध्यक्ष रामबहादुर थापा बादलको पनि नाम परेकोमा एमालेजनमै असन्तुष्टि छ। उनै थापाले मंगलबार काठमाडौंमा भएको एउटा कार्यक्रममा यसपालि कांग्रेस–एमालेले आधा आधा सिट बाँडेर चुनाव लड्न सक्ने अभिव्यक्ति दिएका थिए।




















