इटहरी । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरबाट एउटा पेस्तोल फेला परेको छ। मंगलबार कार्यालय परिसर सरसफाइ गर्ने क्रममा उक्त पेस्तोल भेटिएको हो। फेला परेको पेस्तोल प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङका अनुसार तुलसीलाल स्मृति भवनको पश्चिम गेट अगाडिको क्षेत्रमा प्रहरी प्रयोग गर्ने पेस्तोल भेटिएको हो। आफू बाहिर रहेकाले थप विवरण थाहा नभएको बताउँदै गुरुङले उक्त पेस्तोल प्रहरीले लगिसकेको जानकारी दिएका छन्।

एमाले कार्यालय सचिव भीष्म अधिकारीले पनि प्रहरी टोली घटनास्थलमा पुगेर पेस्तोल लगेकाे पुष्टि गरे। उनका अनुसार भेटिएको पेस्तोल प्रहरीकै भएको खुलेको छ र त्यसमा गोली भने थिएन।

‘सामान्य मुचुल्का बनाएर प्रहरीले पेस्तोल लग्नुभएको हो। पुरानो पेस्तोल थियो, गोली थिएन,’ अधिकारीले भने, ‘सरसफाइका क्रममा भेटिएको हो। कसले राखेको भन्ने खुलेको छैन। प्रहरीले यो हाम्रै भएको बताउनुभएको छ।’उल्लेखनीय छ, गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सोही स्थान नजिकै एउटा गाडीसमेत जलेको थियो।