इटहरी । सुनसरी जिल्ला अदालतले मेलमिलाप प्रक्रियालाई अझ सुदृढ, प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यसहित नयाँ मेलमिलापकर्ताहरूलाई सपथ ग्रहण गराएको छ । 

सपथ ग्रहण पश्चात् सूचिकृत मेलमिलापकर्ताहरूमा बिकल रेग्मी, कल्पना पाण्डे, अरुण कुमार मेहता, मनोज कुमार मेहता, नबिन रम्तेल तथा बेजिन्द्र निरौला रहेका छन् । अदालत परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा चयन भएका मेलमिलापकर्ताहरूलाई जिम्मेवारीबोध सहित सपथ खुवाइँदै अदालतको मेलमिलाप प्रणालीमा औपचारिक रूपमा सहभागी गराइएको सुनसरी जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले जानकारी दिए ।

 मेलमिलाप सम्बन्धी नियमावली, २०७० को नियम ९ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ५० बमोजिमको व्यवस्था अनुसार, सपथ ग्रहण गरेका मेलमिलापकर्ताहरूको नाम सुनसरी जिल्ला अदालतमा रहेको मेलमिलापकर्ताको आधिकारिक सूचीमा समावेश गरिएको स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले जानकारी दिए । सूचिकरणसँगै उनीहरूले अदालत र समाजबीच विश्वासको सेतुका रूपमा काम गर्दै विवाद समाधानमा सहजीकरण गर्ने जिम्मेवारी पाएका छन्।कानुनको परिधीभित्र रहेर विवाद समाधानको माध्यमका रूपमा आफ्नो भूमिका निर्वाह गर्ने कानुनी मान्यता प्राप्त गरेका छन्।अदालतका अनुसार मेलमिलाप प्रणाली न्यायिक प्रक्रियाको महत्वपूर्ण अङ्गका रूपमा विकास हुँदै गएको छ। मुद्दा दर्ता भएपछि मात्र होइन, मुद्दा दर्ता हुनु अघिनै वा प्रक्रियाको कुनै पनि चरणमा विवादलाई आपसी समझदारी, संवाद र सहमतिका आधारमा समाधान गर्न मेलमिलापकर्ताको भूमिका अत्यन्तै महत्वपूर्ण रहने विश्वास अदालतले व्यक्त गरेको छ। मेलमिलापले समय, खर्च र मानसिक तनाव कम गर्नुका साथै दीर्घकालीन सामाजिक सद्भाव कायम गर्न मद्दत पु¥याउने अदालतको धारणा छ । Messenger_creation_543E6B81-FFA6-49D8-B725-F0A82D68961A

सपथ ग्रहण कार्यक्रममा अदालतका न्यायाधीश, स्रेस्तेदार, कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अदालतका प्रतिनिधिहरूले मेलमिलापकर्ताहरूले निष्पक्षता, गोपनीयता, इमान्दारिता र कानुनी मर्यादालाई उच्च प्राथमिकतामा राखेर कार्य गर्नुपर्नेमा जोड दिएका थिए । साथै, मेलमिलापकर्ताबाट अदालत, पक्षकार र समग्र समाजले ठूलो अपेक्षा राखेको उल्लेख गर्दै जिम्मेवारीलाई आत्मसात् गर्दै काम गर्न आग्रह गरिएको थियो ।

नयाँ मेलमिलापकर्ताहरूले पनि आफूहरूलाई दिइएको जिम्मेवारीलाई सम्मानका साथ स्वीकार गर्दै न्याय, सद्भाव र सामाजिक शान्तिको प्रवद्र्धनका लागि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले अदालत र समाजबीच विश्वासको सेतुका रूपमा काम गर्ने र विवाद समाधानमा सकारात्मक वातावरण सिर्जना गर्ने बताएका छन् । अदालतले आगामी दिनमा पनि मेलमिलाप प्रणालीलाई थप व्यवस्थित, सक्षम र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जानकारी दिएको छ ।