इटहरी । उपभोक्ताको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ प्रिमा ग्यास उद्योग प्रा.लि., इटहरी–१६, लविपुर, सुनसरीले अप्रचलित, क्षतिग्रस्त तथा म्याद गुज्रिएका एलपी ग्यास सिलिन्डर नष्ट गर्ने विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
उद्योग परिसरमा आयोजित उक्त कार्यक्रम पुराना सिलिन्डरबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा सुरक्षित ग्यास प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित सञ्चालन गरिएको हो ।
प्रिमा ग्यास उद्योगले देशका विभिन्न स्थानमा फरक–फरक ब्रान्ड तथा नामबाट एलपी ग्यास रिफिलिङ उद्योग सञ्चालन गर्दै आएको छ । एलपी ग्यास अत्यन्तै ज्वलनशील पेट्रोलियम पदार्थ भएकाले यसको उत्पादन, भण्डारण, ढुवानी तथा उपभोगका हरेक चरणमा उच्च सतर्कता आवश्यक पर्ने उद्योगले जनाएको छ । यही संवेदनशीलतालाई मध्यनजर गर्दै उद्योगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सिलिन्डरको नियमित परीक्षण, मर्मत तथा आवश्यक परेमा नष्ट गर्ने नीति अवलम्बन गर्दै आएको छ ।
उद्योगका अनुसार प्रयोगका क्रममा विभिन्न कारणले चुहावट देखिएका, डेन्ट परेका, फुटेका, अत्यधिक खिया लागेका, भल्भमा समस्या देखिएका, हाइड्रो टेस्टमा फेल भएका तथा प्रयोगका लागि पूर्ण रूपमा अनुपयुक्त सिलिन्डरहरू क्रमशः संकलन गरी सुरक्षित तरिकाले नष्ट गरिन्छ । यस किसिमका सिलिन्डर बजारमा प्रयोगमा रहिरहेमा ठूलो दुर्घटनाको जोखिम बढ्ने भएकाले समयमै नष्ट गर्नु अनिवार्य रहेको उद्योगको स्पष्टोक्ति छ ।
यस्तै, प्रिमा ग्यास उद्योग प्रा.लि.ले आर्थिक वर्ष २०७७ सम्ममा विभिन्न ब्रान्डका ६१० थान एलपी ग्यास सिलिन्डर नष्ट गरिसकेको जनाएको छ । साथै, चालु अवधिमा थप १५५ थान सिलिन्डर नष्ट गरिएको प्रिमा ग्यास उद्योग प्रा.लि. कि प्रबन्धक चन्द्रकला गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा उद्योग व्यवस्थापन समिति, प्राविधिक टोली, कर्मचारी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले सिलिन्डर नष्ट गर्ने प्रक्रिया प्रत्यक्ष अवलोकन गर्नुका साथै ग्यास सुरक्षासम्बन्धी प्राविधिक जानकारीसमेत प्राप्त गरेका थिए । कार्यक्रममा सहभागी वक्ताहरूले उपभोक्ताको ज्यान तथा सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको यो कार्य प्रशंसनीय रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा प्रिमा ग्यास उद्योग प्रा.लि.का व्यवस्थापकले उपभोक्तालाई म्याद गुज्रिएका, क्षतिग्रस्त वा शंकास्पद सिलिन्डर प्रयोग नगर्न विशेष आग्रह गरे । साथै, यस्ता सिलिन्डरहरू आधिकारिक डिलर वा उद्योगमार्फत फिर्ता गर्न अनुरोध गर्दै सुरक्षित ग्यास प्रयोगमा सबैको साझा जिम्मेवारी रहने बताए ।
उद्योगले उपभोक्ता सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा सुरक्षा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । यस प्रकारका कार्यक्रमले एलपी ग्यास प्रयोगबाट हुने जोखिम न्यूनीकरण गर्नुका साथै उपभोक्तामा सुरक्षित ऊर्जा प्रयोगबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।




















