इटहरी । जेन्जी आन्दोलनका क्रममा भौतिक पूर्वाधार क्षति भएपछि लामो समयदेखि अवरुद्ध बनेको यातायात व्यवस्था सवारी कार्यालय इटहरीले पुनः आफ्ना नियमित सेवा–सुविधाहरू सञ्चालनमा ल्याएको छ ।
आन्दोलनका कारण कार्यालयको संरचना मात्र नभई सेवाग्राहीको दैनिक कार्यसमेत प्रभावित हुँदै आएको थियो । तर, आवश्यक मर्मत–सम्भार तथा प्रशासनिक तयारी पूरा भएपछि कार्यालयले सवारी साधन दर्ता, नविकरण, सार्बजनिक सवारी कर तिर्ने लगायतका सबै सेवा औपचारिक रूपमा पुनः सुरु गरेको हो ।
भर्खरै पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले सेवाग्राहीलाई सहज, र व्यवस्थित सेवा उपलब्ध गराउन टोकन प्रणाली लागू गरेको छ । सेवाको माग अत्यधिक हुने भएकाले भीड नियन्त्रण र सेवा प्रवाहलाई सरल बनाउन टोकन प्रणाली प्रभावकारी हुने छ ।
हाल दैनिक ४० वटा टोकन वितरण गरेर सेवा प्रदान हुने व्यवस्था गरिएको कार्यालयले जनाएको हो। अहिले सेवा सामान्य अवस्थामा फर्किएको छ। सुरु–सुरुमा धेरै भीड हुने भएकाले सेवाग्राहीलाई समस्या नहोस् भन्ने उद्देश्यले टोकन प्रणाली लागू गरिएको यातायात व्यवस्था सवारी कार्यलय यटहरी प्रमुख मान बहादुर देवकोटाले बताए ।
कार्यालयले सञ्चालनमा आएका सेवा व्यवस्थित गर्न कर्मचारी संख्या, सेवा कक्ष, साधन र भौतिक संरचना क्रमशः विस्तार र सुधार गर्ने योजना पनि अघि सारेको छ। आन्दोलनपछि बन्द भएका महत्त्वपूर्ण सेवाहरू पुनः सुरु भएपछि स्थानीय क्षेत्रका सेवाग्राहीले राहत भएको महसुस गरिरहेको कार्यालयले दाबी गरेको छ ।
सवारी साधन सम्बन्धी कामका लागि अन्य जिल्लातर्फ धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै सेवाग्राहीले इटहरी कार्यालय खुलेकोमा खुसी व्यक्त गरेका छन्। टोकन प्रणाली लागू भएपछि भीड व्यवस्थापनमा सुधार आउने र सेवाप्रवाह झनै प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।




















